वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेकी उम्मेदवार रिमा कुमारी यादव, नेपाली कांग्रेसका कानुन मन्त्री अजय चौरसिया र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुशील कुमार कानु बीच त्रिपक्षीय कडा प्रतिस्पर्धा देखिएको छ। निर्वाचन नजिकिँदै जाँदा तीनै उम्मेदवारका गतिविधि तीव्र बन्दै गएका छन् भने स्थानीय राजनीतिक माहोल तातेको छ।
नेपाली कांग्रेसका उम्मेदवार अजय चौरसिया कानुन मन्त्री रहँदा उनीमाथि विभिन्न किसिमका आरोप लाग्दै आएका थिए। तर यस पटक पसाका नेपाली काग्रेसका नेता तथा कार्यकर्ताहरु एक ढिका भएर चुनावमा होमिएका छन यस कारण उनी बलियो देखिएका छन । हाल उनको समर्थन बडदै गएको देखिएको चर्चा छ।
उता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशील कुमार कानु पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा होमिएका छन्। उनी यसअघि वीरगञ्ज महानगरपालिका वडा नं. १० का वडाध्यक्ष थिए। वडाध्यक्ष रहँदा उनले सडक कुकुरहरूका लागि चौक–चौकमा आश्रयस्थल निर्माण गराएको कामलाई धेरैले सकारात्मक रूपमा लिएका छन्। संघीय संसद्को चुनावमा प्रतिस्पर्धा गर्न उनले वडाध्यक्ष पदबाट राजीनामा दिएका हुन्।
देशभर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको लोकप्रियताको प्रभाव देखिँदै गएको सन्दर्भमा सुशील कानु बालेनकै पार्टी रास्वपाबाट उम्मेदवार बनेका छन्। २०६४ सालमा माओवादीको लहर चलेझैँ यसपटक रास्वपाको लहर चलिरहेको चर्चा राजनीतिक वृत्तमा छ। पार्टी नेतृत्वले बहुमतको सरकार बन्ने दाबीसमेत गर्दै आएको छ।
यसैबीच नेकपा एमालेकी उम्मेदवार रिमा कुमारी यादव पनि पर्सा–२ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएकी छन्। उनी पहिलोपटक संघीय संसद्को निर्वाचनमा सहभागी भएकी हुन्। यादवले घरदैलो तथा विभिन्न कार्यक्रममार्फत स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना चुनावी एजेन्डा सार्वजनिक गरिरहेका छिन ।
उनले कृषिलाई समृद्धिको मुख्य आधारका रूपमा उल्लेख गर्दै कृषि आधुनिकीकरण, गुणस्तरीय मल र बिउको सहज उपलब्धता, आधुनिक कृषि तालिम तथा व्यावसायिक खेतीको प्रवर्द्धनलाई प्राथमिक एजेन्डा लिएर चुनावी मैदानमा होमिएका छिन।
स्वास्थ्य क्षेत्र सुधारका लागि वडा तहका स्वास्थ्य संस्थालाई सुविधा सम्पन्न बनाउने, नगरपालिकामा रहेको अस्पतालको सुदृढीकरण गर्ने र डिजिटल स्वास्थ्य प्रणाली विकास गर्ने योजना जस्तो नारा अघिसारेको छिन। म जिते संगै यसबाट आम नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने उनको भनाइ छ।
शिक्षा क्षेत्रमा उनले गुणस्तरीय तथा सिपमूलक शिक्षा प्रणाली, विद्यालय सरसफाइ, शिक्षक–अभिभावक–विद्यार्थीबीच नियमित अन्तरक्रिया, अतिरिक्त क्रियाकलापको प्रवर्द्धन तथा महिलाका लागि रोजगारी र उद्यमशीलता विकासलाई प्राथमिकतामा राख्ने र चुनावमा आएका छिन ।
त्यसैगरी पूर्वाधार विकास अन्तर्गत सडक, पुल, ढल तथा बिजुली निर्माणमा पारदर्शिता, गुणस्तर र समयपालनलाई विशेष ध्यान दिइने उनले स्पष्ट निती रहेको देखिएको छ । मतदाताले भोग्दै आएका समस्या संसद् र नीति निर्माण तहसम्म पुर्याएर समाधानका लागि प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता समेत लिएर यादवले भोटमाग्दै छिन।
पर्सा–२ मा तीन फरक राजनीतिक धार र पृष्ठभूमिका उम्मेदवारबीचको प्रतिस्पर्धाले यस क्षेत्रको निर्वाचनलाई रोचक र निर्णायक बनाएको राजनीतिक विश्लेषकहरू बताउँछन्।