×

वीरगञ्ज। पर्सा निर्वाचन क्षेत्र नम्बर–४ मा आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। चुनावी सरगर्मी बढेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेकबहादुर शाक्यप्रति स्थानीय मतदाताहरूको असन्तुष्टि सतहमा आउन थालेको छ, जसले क्षेत्रको राजनीतिक माहोल थप तातिएको छ।

स्थानीय बासिन्दाहरूका अनुसार शाक्य चुनावी भाषणमा विकास, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता विषयमा आकर्षक र ठूला प्रतिबद्धता जनाउने भए पनि व्यवहारमा भने त्यसको प्रभाव देखिन नसकेको गुनासो छ। २०७९ सालको निर्वाचनका बेला जनतासामु देखाइएका प्रतिबद्धताहरू चुनावपछि कार्यान्वयन नभएको र उम्मेदवारसँग सम्पर्कसमेत टुटेको आरोप स्थानीयले खुलेर लगाउन थालेका छन्।

कतिपय स्थानीयले शाक्यलाई “पोज भारी, डिबा खाली” जस्तै नेता भएको टिप्पणी गर्दै भाषण र व्यवहारबीच ठूलो अन्तर रहेको बताएका छन्। छिपहरमाई गाउँपालिकाका एक मतदाताले भने, “चुनाव आउँदा मात्रै नेता देखिन्छन्, भोट पाएपछि जनताको फोनसमेत उठ्दैन।”

यसैबीच, शाक्यविरुद्ध अघिल्लो निर्वाचनमा विपक्षी पक्षसँग आर्थिक लेनदेन गरी अन्य दललाई समर्थन गरेको आरोपसमेत स्थानीय तहमा उठ्न थालेको छ। यस्ता आरोपले उनको राजनीतिक चरित्र र विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको स्थानीयहरूको भनाइ छ।

पर्सा–४ का मतदाताहरू लामो समयदेखि बेरोजगारी, कमजोर शिक्षा प्रणाली, स्वास्थ्य सेवाको अभाव र आधारभूत पूर्वाधारको समस्याबाट पीडित छन्। तर हरेक निर्वाचनमा उही आश्वासन र उही भाषण दोहोरिने गरेको भन्दै जनतामा निराशा बढ्दै गएको देखिन्छ। स्थानीयका अनुसार नेताहरू जनताका वास्तविक समस्याको समाधानभन्दा प्रचार, फोटोसेसन र भाषणमै सीमित हुने गरेका छन्।

युवाहरूले पनि अब भाषणभन्दा व्यवहारिक कामलाई प्राथमिकता दिनुपर्ने आवाज उठाउन थालेका छन्। एक स्थानीय युवाले भने, “हामीलाई भाषण गर्ने नेता होइन, काम गरेर देखाउने र जनतासँग दुःख–सुखमा उभिने नेता चाहिएको हो।”

टेकबहादुर शाक्यको पछिल्लो चुनावी गतिविधिप्रति सामाजिक सञ्जालमा समेत आलोचना बढ्दै गएको छ। प्रयोगकर्ताहरूले अघिल्ला प्रतिबद्धता पूरा नगरेको भन्दै प्रश्न उठाइरहेका छन्, जसले उनको चुनावी अभियानलाई थप चुनौतीपूर्ण बनाउने संकेत देखिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार पर्सा–४ मा देखिएको असन्तुष्टि सामान्य प्रतिक्रिया मात्र नभई उम्मेदवारका लागि गम्भीर राजनीतिक चेतावनी हो। उनीहरूका अनुसार अब पुराना भाषण र नाराले मात्र मतदाता प्रभावित हुने अवस्था नरहेको भन्दै निरन्तर सम्पर्क, पारदर्शिता र व्यवहारिक काम नै निर्णायक बन्नेछ।

पर्सा–४ का मतदाताहरू यसपटक फरक मनस्थितिमा देखिएका छन्। उनीहरू भोट माग्ने बेला मात्रै होइन, सधैं जनताको बीचमा रहने र काम गरेर देखाउने नेतृत्वको खोजीमा छन्। बढ्दो जनअसन्तुष्टिले आगामी निर्वाचनमा टेकबहादुर शाक्यको राजनीतिक भविष्य कस्तो मोड लिन्छ भन्ने प्रश्नलाई अझ गहिरो बनाएको छ।

Back to top