×

वीरगञ्ज । नेपाली काँग्रेसबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल रुङ्टाको नेतृत्वमा वीरगञ्ज महानगरपालिका–११ अन्तर्गत पर्ने श्रीपुर टोलमा घरदैलो तथा पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

घरदैलो तथा भेटघाट कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी सयौँ युवाहरू नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्यक्रममा स्थानीय बासिन्दा, युवा तथा सामाजिक अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार अनिल रुङ्टाले वीरगञ्ज–११ सहरको केन्द्रमा पर्ने महत्त्वपूर्ण वडा भएकाले यसको विकासका लागि विशेष ध्यान दिन आवश्यक रहेको बताए । अन्य वडाको तुलनामा यहाँ जनघनत्व बढी रहेकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र फोहोर व्यवस्थापनजस्ता क्षेत्रमा तत्काल सुधार आवश्यक रहेको उनको भनाइ थियो । “वीरगञ्ज–११ को समग्र विकास मेरो प्राथमिकतामा पर्छ । सहरको मुटु भएकाले यहाँ गरिएको विकासको प्रभाव सम्पूर्ण वीरगञ्जमा पर्छ,” रुङ्टाले भने ।

उनले निर्वाचन जितेर गएपछि आफू अन्य उम्मेदवारहरू जस्तो काठमाडौँमा बसेर मिडियाबाजी गर्ने र जनताबाट टाढा रहने नेता नभएको स्पष्ट पारे । “म चुनाव जितेर हराउने मान्छे होइन । जनतासँग बसेर, जनताको समस्या सुनेर र समाधान खोज्दै अघि बढ्ने प्रतिनिधि बन्छु,” उनले भने ।

रुङ्टाले बहिनी–छोरीहरूलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सरकारी विद्यालयहरूमा कक्षा १ देखि १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था मिलाइने, छात्राहरूको शैक्षिक पहुँच विस्तार गरिने र शिक्षामा समान अवसर सुनिश्चित गरिने बताए । महिला सशक्तीकरण, गुणस्तरीय शिक्षा र सुरक्षित भविष्य निर्माण आफ्नो प्रमुख एजेन्डा रहेको उनले उल्लेख गरे ।

घरदैलो कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले विकास, रोजगारी, शिक्षा र पूर्वाधार सुदृढीकरणका विषयमा आफ्ना समस्या र अपेक्षाहरू खुला रूपमा राखेका थिए । उनीहरूले उम्मेदवार रुङ्टासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा नेपाली काँग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय द्विवेदी, क्षेत्रीय सभापति अरविन्द गुप्ता, उपसभापति अनिल सिंह, सचिव हरि यादव, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, हरिन्द्र यादव, मिन्टु सिंह, जितेन्द्र पुरुष, मनोजा चौधरी, किरण सरकार, सुरेन्द्र लामिछाने, रामनिवास यादवलगायत नेविसंघ, तरुण दलका नेता, वरिष्ठ नेता, कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी सबैले पर्सा क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका उम्मेदवार अनिल रुङ्टालाई भारी मतका साथ विजयी गराउने सामूहिक सङ्कल्प व्यक्त गरेका छन् । राजनीतिक विश्लेषकहरूका अनुसार घरदैलो कार्यक्रममा देखिएको जनउत्साह, युवाहरूको सक्रिय सहभागिता र साझा विश्वासले पर्सा–१ मा नयाँ राजनीतिक इतिहास रचिने सङ्केत देखिएको छ ।

Back to top