वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार रिमा कुमारी यादवले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको समुन्नत विकास बिना समृद्ध समाज निर्माण असम्भव हुने बताएकी छन् ।
वीरगञ्ज महानगरपालिका – २८ बगहीमा सोमबार नेकपा (एमाले)द्वारा आयोजित वडा स्तरीय अगुवा भेलालाई सम्बोधन गर्दै यादवले दक्ष जनशक्ति उत्पादनका लागि वडा–वडामा सीपमूलक तालिम सञ्चालन गर्ने लक्ष्य रहेको बताइन् । “सीप विकासले महिलालाई आत्मनिर्भर बनाउने र रोजगारीमा जोड्ने काम गर्नेछ,” उनले भनिन् ।
यादवले प्रत्येक स्वास्थ्य संस्थामा सुलभ औषधि उपलब्ध गराउने र चिकित्सकको नियुक्ति सुनिश्चित गर्न पहल गर्ने बताइन् । उनले स्वास्थ्य चौकीहरूमा पनि कम्तीमा एक जना एमबिबिएस डाक्टरसहित सेवा सुनिश्चित गरिने स्पष्ट पारेकी छन् ।
महिला अधिकार र शिक्षामा जोड दिँदै उनले प्रौढ शिक्षालाई पुनः सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइन् । यादवले प्रौढ शिक्षा महिलालाई साक्षर बनाउने, आत्मसम्मान र स्वावलम्बनमा मद्दत गर्ने बताइन् ।
यादवले पर्साको इतिहासमा पहिलो पटक जेन–जी उमेर समूहकी मधेसी महिला सांसदको उम्मेदवारी दिइरहेको उल्लेख गर्दै यस क्षेत्रको विकासका लागि “सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी बनाइदिनुहोस्” भन्दै मत मागेकी छन् ।
समानुपातिक उम्मेदवार तथा नेकपा एमाले मधेस प्रदेशका उपाध्यक्ष बिचारी प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भेलामा वीरगञ्ज–१७ का वडा अध्यक्ष सन्जु छतकुली, वीरगञ्ज–२४ का वडा अध्यक्ष विजय कुर्मी, युवा नेता मुकेश द्विवेदी लगायतले आ–आफ्ना धारणा राखेका थिए । इकाई अध्यक्ष धुरुप राउत कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण राकेश साहले गरेका थिए ।
भेलामा सहभागी वक्ताहरूले महिला अधिकार, समावेशी विकास र स्थानीय तहको सुदृढीकरणका लागि नेकपा एमाले निर्णायक भूमिका खेल्ने दाबी गरेका थिए ।