×

वीरगञ्ज। खानेपानी तथा सरसफाइ क्षेत्रमा प्रदीप यादवको नेतृत्व कालमा भएका ठोस विकास कार्यहरू अहिले जनचासोको विषय बनेका छन्। उनले जिम्मेवारीमा रहँदा देखाएको सक्रियता, निर्णय क्षमता र परिणाममुखी कामका कारण स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म उनको योगदानको चर्चा भइरहेको छ, जसको प्रभाव प्रत्यक्ष रूपमा मतदातामा देखिन थालेको छ।

गत वर्ष असार ३१ गतेदेखि जिम्मेवारी सम्हालेपछि एक वर्षभित्रै उनले खानेपानी क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरे। मेलम्ची खानेपानी आयोजनाअन्तर्गत रिवर्मा खोलाबाट पानी पथान्तरण गरी उपत्यकामा वर्षभरि नियमित खानेपानी आपूर्ति सम्भव बनाइनु उनका काममध्ये एक महत्त्वपूर्ण उपलब्धि मानिन्छ, जसले राष्ट्रिय स्तरमै ध्यान तानेको थियो।

उनको नेतृत्व कालमा आर्थिक वर्ष २०८१/८२ का लागि करिब १२ अर्ब रुपैयाँ बराबरको स्रोत सहमति जुटाइयो। खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गतका आयोजनाहरूमा पुँजीगत खर्च ८६ प्रतिशतसम्म पुग्नु कार्यसम्पादन क्षमताको स्पष्ट उदाहरण हो।

उर्लाबारी बृहत् सह लगानी आयोजना, बेलडाँगी खानेपानी आयोजना लगायत देशभर ८६ वटा खानेपानी आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा ल्याइनु यादवको कार्यकालको अर्को महत्त्वपूर्ण उपलब्धि हो।

त्यसैगरी, उपत्यकाको चक्रपथ बाहिर मेलम्ची खानेपानी विस्तारका लागि पाँच वटा प्याकेजमार्फत सार्वजनिक खरिद प्रक्रिया अघि बढाइयो। सुन्दरीजलमा २५.५ करोड लिटर क्षमताको अत्याधुनिक पानी प्रशोधन केन्द्र निर्माणको प्रक्रिया सुरु गरियो भने कीर्तिपुर र महाँकालचौरमा क्रमशः ६० लाख र ८० लाख लिटर क्षमताका खानेपानी ट्याङ्की निर्माण सम्पन्न गरिए।

देशभर नयाँ खानेपानी आयोजना तथा उपभोक्ता संस्थामार्फत पानी शुद्धीकरणका लागि क्लोरिनेसन युनिट अनिवार्य रूपमा सञ्चालनमा ल्याइनु स्वास्थ्य र सरसफाइ सुधारतर्फको ठोस कदमका रूपमा लिइएको छ।

मधेस प्रदेशमा देखिएको गम्भीर खानेपानी सङ्कट समाधान गर्न यादव स्वयं सक्रिय हुँदै २५० भन्दा बढी स्थानमा डिप बोरिङ निर्माण सम्पन्न गराए। वीरगञ्ज महानगरपालिकामा वर्षौँदेखि झेलिँदै आएको खानेपानी समस्यालाई एक साताभित्रै घर–घरमा पाइपलाइनमार्फत स्वच्छ पानी पुर्याएर समाधान गरेको उदाहरण आज पनि पर्सावासीले स्मरण गरिरहेका छन्।

तात्कालिक समाधानमै सीमित नभई उनले वीरगञ्जवासी तथा पर्सा निर्वाचन क्षेत्र नं. १ का बासिन्दालाई लक्षित गर्दै दीर्घकालीन योजनाहरू अघि सारे। त्यसअन्तर्गत वीरगञ्जमा केही ठूला खानेपानी परियोजना सञ्चालनमा आइसकेका छन् भने केही निर्माण तथा कार्यान्वयनको चरणमा छन्।

खाने पानीसँगै पर्सा निर्वाचन क्षेत्र नं. १ का ग्रामीण भेगमा वर्षौँदेखि रहेको सडक समस्यालाई समेत समाधान गर्दै टोल–टोल र बस्ती–बस्तीमा पक्की सडक विस्तार गरियो। सडक बनेपछि स्थानीयवासी हर्षित देखिएका छन् र “अब भोट माग्न आउनु पर्दैन” भन्ने अभिव्यक्ति स्थानीय स्तरमै सुनिन थालेको छ।

गाउँ–गाउँको पहिचान र गरिमा बढाउने उद्देश्यले प्रवेशद्वार निर्माण तथा सौन्दर्यीकरणका कामहरू पनि विभिन्न स्थानमा गरिए, जसको चर्चा आज पर्साभरि फैलिएको छ।

उनको नेतृत्व कालमा नीतिगत सुधारहरू पनि उल्लेखनीय रहे। खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत अस्थायी रूपमा सञ्चालित आयोजनाहरूलाई स्थायित्व दिँदै १५ वटा स्थायी कार्यालय स्थापना गरियो। खानेपानी तथा सरसफाइ नियमावली, २०८१ लागू गरियो भने सह लगानी खानेपानी तथा सरसफाइ आयोजना कार्यान्वयन निर्देशिका अद्यावधिक गर्दै जनसहभागिता शुल्क ३० प्रतिशतबाट घटाएर १५ प्रतिशतमा झारियो। साथै खानेपानी, सरसफाइ तथा स्वच्छता योजना तर्जुमा कार्यविधि, २०८१ स्वीकृत गरियो।

यिनै ठोस काम, जनताप्रतिको लगाव र विकासप्रतिको स्पष्ट दृष्टिकोणका कारण यस पटक पनि प्रदीप यादव नै जनताको पहिलो रोजाइ हुनेमा स्थानीय मतदाता ढुक्क देखिएका छन्।

Back to top