वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सिए अजय चौरसियाले वीरगञ्ज महानगरपालिका – ३१ लिपनीविर्तामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
घरदैलोका क्रममा उम्मेदवार चौरसियाले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा साक्षात्कार गर्दै पर्सा जिल्ला मात्र नभई समग्र मुलुकको निर्माणका लागि असल, इमानदार र जिम्मेवार नेतृत्वको पहिचान गरी मतदान गर्न आग्रह गरे ।
चौरसियाले नेकपा सुरुदेखि नै जनताका समस्या र मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि जनताको स्वार्थलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले देशमा व्याप्त भ्रष्टाचार, बेथिति र कुशासन अन्त्यका लागि पढेलेखेको, जानकार र जबाफदेही नेतृत्व अपरिहार्य रहेको बताए । उनले आफ्नो निर्वाचन क्षेत्रमा शिक्षित, अनुभवी र काम गर्न सक्ने व्यक्तिलाई मात्र नेतृत्वमा पुर्याउनुपर्नेमा जोड दिए ।
यसअघि पर्सा–१ बाट निर्वाचित प्रतिनिधिहरूले गरेको कामको मूल्याङ्कन गर्दै यस पटक क्षेत्र र यहाँका जनताको भविष्य, समृद्धि र विकासलाई केन्द्रमा राखेर मतदान गर्नुपर्ने उनको भनाइ थियो ।
जनतासँगको संवादका क्रममा उनले भने, “देश डुब्नुको कारण पैसा होइन, हिसाब नबुझ्ने नेतृत्व हो । आम जनताले तिरेको करबाट बनेको हरेक पैसा आम जनताकै हितका लागि खर्च हुनुपर्छ र त्यसको स्पष्ट हिसाब हुनुपर्छ ।”
कार्यक्रमका क्रममा उम्मेदवार चौरसियाले आगामी निर्वाचनमा नेकपाको तारा छापमा मतदान गर्न आग्रह गर्दै पारदर्शी, जबाफदेही र विकासमुखी नेतृत्वका लागि आफूलाई अवसर दिन मतदातासमक्ष अपिल गरे ।