वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेपाली काँग्रेसका अनुभवी नेता तथा पूर्व मन्त्री रमेश रिजाल सातौँ पटक चुनावी मैदानमा उत्रिएका छन् ।
लामो राजनीतिक अनुभव र पार्टी सङ्गठनको बल भए पनि यस पटक बदलिँदो राजनीतिक समीकरण, आन्तरिक असन्तुष्टि र नयाँ शक्तिको उदयका कारण रिजालका लागि आफ्नो राजनीतिक विरासत जोगाउनु चुनौतीपूर्ण बन्दै गएको छ ।
२०७९ को निर्वाचनमा रिजाल ३१,२२४ मतसहित विजयी भएका थिए । तर, त्यसबेला एमालेका जालिम मियाँ मन्सुरीसँगको ५,५५३ मतान्तर अहिलेको परिस्थितिमा सुरक्षित देखिँदैन । स्थानीय स्तरमा उठिरहेको विकासप्रतिको असन्तुष्टि, युवा मतदाताको दृष्टिकोण परिवर्तन र वैकल्पिक राजनीतिक शक्तिको सक्रियताले रिजालको परम्परागत आधारमा चिरा पारिरहेको विश्लेषण गर्न थालिएको छ ।
मन्त्री रहँदा पर्सा–४ का लागि अपेक्षित ठोस विकास गर्न नसकेको आरोप उनीमाथि लाग्दै आएको छ । कृषि, सिँचाइ, खानेपानी, सडक र भूमिहीन सुकुम्वासीका मुद्दा अझै अधुरै रहेको मतदाताको गुनासो छ । विशेषतः ग्रामीण भेगका मतदाताले “नेताहरू चुनाव जितेपछि काठमाडौँमै सीमित हुन्छन्” भन्ने धारणा सार्वजनिक रूपमा व्यक्त गर्न थालेका छन् ।
यसैबिच, एमाले परित्याग गरी नेकपाबाट उम्मेदवारी दिएका जयप्रकाश थारुको उदयले एमालेको परम्परागत मत काटिन सक्ने अवस्था सिर्जना गरेको छ । अर्कोतर्फ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का टेकबहादुर शाक्यको “पोज भारी, डिब्बा खाली” जस्तै नेता भएको टिप्पणी गर्दै भाषण र व्यवहारबिच ठूलो अन्तर रहेको बताएका छन् भने जसपा (नेपाल) ले मधेसी मत सुरक्षित राख्न प्रयास तीव्र बनाएको छ ।
स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार, रिजालले असन्तुष्ट मतदाताको भरोसा पुनः जित्न नसके सातौँ पटकको उम्मेदवारी नै उनका लागि सबैभन्दा कठिन चुनाव साबित हुन सक्छ ।
अब पर्सा–४ का मतदाताले अनुभवलाई निरन्तरता दिने कि नयाँ विकल्पलाई अवसर दिने भन्ने निर्णय फागुन २१ को मतदानले गर्नेछ ।