×

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा बल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले वीरगञ्जस्थित अवैध गोदाममा छापा मार्ने क्रममा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गरेको छ भने घटनाका मुख्य योजनाकार मदन गुप्ता (रुनचे मदन) फरार रहेका छन्।

सोमबार वीरगञ्जको आदर्शनगरस्थित अवैध रूपमा गोदाम गरी राखिएको कपडामा छापा मार्ने क्रममा स्थानीय व्यापारी मदन गुप्ताको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका थिए भने दुई वटा सरकारी सवारीसाधनमा समेत क्षति पुगेको थियो।

पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई सोमबार रातिसम्म पक्राउ गरिएको जानकारी दिँदै घटनाका मुख्य नाइके मदन गुप्ताको खोजी कार्य तीव्र पारिएको बताए । “सिसिटिभी फुटेजको आधारमा घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी अनुसन्धान भइरहेको छ,” उनले भने, “अनुसन्धानको क्रममा अन्य संलग्न व्यक्तिहरूको नाम पछि सार्वजनिक गरिनेछ ।”

प्रहरी स्रोतका अनुसार मदन गुप्ता पक्राउ पर्ने डरले भारतमा आफन्तकहाँ लुकेर बसेको आशङ्का गरिएको छ । सशस्त्र प्रहरीमाथि आक्रमण गराएको कसुरमा उनलाई भारतबाटै पक्राउ गर्न सादा पोसाकमा प्रहरी परिचालन गरिएको स्रोतले जनाएको छ ।

संयुक्त टोलीले भन्सार छली गरेर सामान भित्र्याएको आशङ्कामा मदनप्रसाद गुप्ताको घरमा अवैध रूपमा गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको हो। सो स्थानबाट करिब १२ लाख ५० हजार रुपैयाँ मूल्य बराबरका सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Back to top