वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका उम्मेदवार, पूर्व मन्त्री तथा निवर्तमान सांसद रमेश रिजालको विकल्प खोज्ने बहस तीव्र बन्दै गएको छ । लामो समयदेखि सांसद तथा मन्त्रीको रूपमा सक्रिय रहँदै आएका ६५ वर्षीय रिजालले क्षेत्रको समग्र विकासमा अपेक्षित उपलब्धि देखाउन नसकेको भन्दै स्थानीय मतदाताहरू परिवर्तनको पक्षमा उभिन थालेका छन् ।
स्थानीयका अनुसार चुनाव जितेपछि आफ्ना आसेपासेका सीमित काममा मात्र केन्द्रित हुने, काठमाडौँमै बसोबास गर्ने र क्षेत्रसँग निरन्तर सम्पर्क नराख्ने नेताको रूपमा रिजालप्रति असन्तोष बढ्दै गएको छ । उनी क्षेत्रमै कहिलेकाहीँ मात्र देखिने गरेको आरोप मतदाताहरू लगाउँछन् ।
शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासजस्ता आधारभूत क्षेत्रमा उल्लेखनीय प्रगति नदेखिएको गुनासो व्यापक छ । “चार पटक सांसद तथा मन्त्री बन्ने अवसर पाए पनि क्षेत्रले ठोस परिवर्तन अनुभूति गर्न सकेन,” एक स्थानीय मतदाताले बताए, “अब परिणाम देखिने नेतृत्व चाहिएको छ ।”
यस निर्वाचन क्षेत्रमा नेकपा (एमाले) की जालिम मियाँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का टेक बहादुर शाक्य, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का जयप्रकाश थारु तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका कृपा सिन्धु चौधरी चुनावी प्रतिस्पर्धामा छन् ।
पर्सा–४ ऐतिहासिक रूपमा लोकतान्त्रिक र वामपन्थी सक्तीहरूबिच कडा प्रतिस्पर्धा हुने क्षेत्र मानिन्छ । २०७९ सालको निर्वाचनमा काँग्रेसका रमेश रिजाल ३१,२२४ मतसहित विजयी हुँदा एमालेका जालिम मियाँ मन्सुरीले २५,६७१ मत प्राप्त गरेका थिए । ५,५५३ मतको यो अन्तर वर्तमान राजनीतिक समीकरणमा निकै सानो मानिन थालेको छ ।
मतदाताहरूको एक हिस्साले रिजाललाई पराजित गर्न सक्ने सम्भावना भएका उम्मेदवारलाई समर्थन गर्ने रणनीति बनाइरहेको बताइएको छ । उनीहरू रिजालको अघिल्लो कार्यकालका उपलब्धि र आगामी योजनाबारे स्पष्ट जवाफ खोजिरहेका छन् ।
स्थानीय नेता तथा सामाजिक अभियन्ताहरूका अनुसार अब मतदाताको प्राथमिकता व्यक्तिको विगतभन्दा पनि वर्तमान कार्यक्षमता र भविष्यका स्पष्ट योजनातर्फ केन्द्रित हुँदै गएको छ । “विकास, सुशासन, शिक्षा, स्वास्थ्य र रोजगारी नै अहिलेको मुख्य मुद्दा हो,” एक सामाजिक अभियन्ताले भने, “यी विषयले मतदातालाई परिवर्तनतर्फ उन्मुख गराएको छ ।”
समग्रमा, पर्सा निर्वाचन क्षेत्र नम्बर–४ मा यसपटकको चुनाव उम्मेदवारबिचको प्रतिस्पर्धाभन्दा बढी परिवर्तन र निरन्तरताबीचको जनमत परीक्षणका रूपमा हेरिन थालेको छ ।