वीरगञ्ज। वीरगञ्जमा छापा हान्न पुगेका सशस्त्र प्रहरीमाथि आक्रमण भएको घटनाप्रति पूर्वप्रहरी अधिकारी रमेश खरेलले कडा प्रतिक्रिया जनाएका छन्। घटनामा संलग्न मुख्य योजनाकार मदन गुप्तासहित सम्बन्धित सबै व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन उनले माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खरेलले छापा मार्ने क्रममा सशस्त्र प्रहरीलाई खेदाई–खेदाई कुटिएको घटनालाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्। उनले दोषीलाई संरक्षण गर्ने राजनीतिक जालो तोड्नुपर्ने आवश्यकता औंल्याएका छन्।
खरेलले लेखेका छन्, “घटनामा संलग्न सबै व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्छ, राजनीतिक संरक्षणको जालो तोडिनुपर्छ, र सीमामा काम गर्ने सुरक्षाकर्मीलाई स्पष्ट आदेश, स्रोतसाधन र सुरक्षा दिनुपर्छ। कानुनको शासन कागजमा होइन, व्यवहारमा देखिनुपर्छ—नत्र राज्यप्रति नागरिकको विश्वास झन् क्षय हुँदै जानेछ।”
उक्त घटनापछि सुरक्षा व्यवस्थामाथि प्रश्न उठिरहेका बेला दोषीमाथि कडा कारबाहीको माग व्यापक रूपमा उठ्न थालेको छ।