वीरगञ्ज। पूर्व खानेपानीमन्त्री तथा पर्सा क्षेत्र नम्बर–१ बाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हाल नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले आफ्नो दुई कार्यकालमा क्षेत्रमा पाँच दर्जनभन्दा बढी विकासे योजना कार्यान्वयनमा ल्याएको दाबी गरिएको छ।
२०७४ र २०७९ सालको निर्वाचनबाट निर्वाचित यादवले खानेपानी, सडक, नाला, विद्यालय, अस्पताल तथा दलित आवास लगायतका क्षेत्रमा करोडौँ रुपैयाँ बराबरका योजना ल्याएको उनका स्वकीय सचिव हरिन्द्र साहले जानकारी दिए। उनका अनुसार कतिपय योजना सम्पन्न भई सञ्चालनमा आइसकेका छन् भने केही निर्माणाधीन तथा केही शिलान्यास भई कार्यान्वयन प्रक्रियामा रहेका छन्।
साहका अनुसार यादवको पहिचान भाषणभन्दा कामले बनेको छ। “जनताको सुख–दुःखमा निरन्तर साथ दिने र संकटका बेला अग्रपंक्तिमा उपस्थित हुने नेताका रूपमा उहाँ स्थापित हुनु भएको छ,” उनले भने। वीरगञ्जमा खानेपानी संकट तथा हैजाको महामारीका बेला समेत यादव जनताकै बीचमा रहेर काम गरेको उनको दाबी छ।
वन तथा वातावरण मन्त्री, खानेपानी मन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हाल्दा पनि आफ्नो निर्वाचन क्षेत्रका समस्यालाई प्राथमिकतामा राखेको साहले बताए।
अर्बौँका योजना पर्सा–१ मा
वीरगञ्जमा दीर्घकालीन खानेपानी समस्या समाधानका लागि करिब साढे चार अर्ब रुपैयाँ बराबरको खानेपानी आयोजना अगाडि बढाइएको जनाइएको छ। यसबाहेक सडक स्तरोन्नति, ढलान, नाला निर्माण, विद्यालय भवन तथा धार्मिक–सांस्कृतिक क्षेत्रका पूर्वाधार निर्माणमा उल्लेखनीय बजेट विनियोजन गरिएको दाबी गरिएको छ।
वीरगञ्ज–१८ ईनर्वादेखि भवानीपुर हुँदै ड्राइपोर्टसम्म सडक स्तरोन्नतिका लागि ३ करोड, वीरगञ्ज–३१ सोलखपुर क्षेत्रमा ३ करोड, वीरगञ्ज–२२ मा सडक ढलानका लागि ३ करोड तथा मनियारी गाउँ पश्चिम क्षेत्रमा सडक स्तरोन्नति र नाला निर्माणका लागि ३ करोड बजेट विनियोजन भएको जनाइएको छ।
त्यस्तै, गढीमाई मन्दिर जोडिने सडक, वीरगञ्ज–२१ र वीरगञ्ज–११ स्थित नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय श्रीपुरको भवन निर्माणका लागि पनि ३–३ करोड रुपैयाँ विनियोजन भएको उल्लेख छ।
साना तर प्रत्यक्ष प्रभाव पार्ने योजनाअन्तर्गत वीरगञ्ज–१४ पिपरामा १ करोड, वीरगञ्ज–१५ भिस्वा त्रिशुल चोक क्षेत्रमा ५० लाख, वीरगञ्ज–१२ नेशनल ट्रेडिङदेखि रेडियो वीरगञ्ज क्षेत्रसम्म ५० लाख, राधेमाई क्षेत्रमा ५० लाख तथा वीरगञ्ज–१३ नयाँ टोलस्थित ईदगाह परिसरमा ६० लाख रुपैयाँका योजना अघि बढाइएको बताइएको छ।
यसका अतिरिक्त विभिन्न वडामा १५ लाखदेखि १ करोड रुपैयाँसम्मका दर्जनौँ योजनाहरू सडक ढलान, नाला तथा आधारभूत पूर्वाधार निर्माणका लागि ल्याइएको जनाइएको छ।
कोरोना महामारी, हैजा प्रकोप तथा खानेपानी संकटका बेला सांसद तथा मन्त्री हुँदाहुँदै पनि यादव काठमाडौंमा नबसी निर्वाचन क्षेत्रमा नै सक्रिय रूपमा खटिएको उनका स्वकीय सचिव साहको भनाइ छ।
पर्सा–१ मा आगामी निर्वाचनको सन्दर्भमा यादवले गरेका विकास कार्य र उनका प्रतिबद्धता चुनावी बहसको मुख्य विषय बन्ने देखिएको छ।