पछिल्लो समय दक्षिण भारतीय सुपरस्टार धनुषसँग विवाह हुन लागेको हल्लाले सामाजिक सञ्जाल तातिरहेका बेला बलिउड अभिनेत्री मृणाल ठाकुरले आफ्नो मौनता तोडेकी छिन्। मृणालले बाहिर चल्ने यस्ता अफवाहहरूले अब आफूलाई कुनै असर नगर्ने स्पष्ट पारेकी हुन्।
पहिले यस्ता कुराले चिन्तित तुल्याउने गरे पनि अचेल आफूलाई हाँसो मात्र उठ्ने उनले बताएकी छिन्। आफ्नो निजी जीवनबारे बाहिर बनाइएको धारणा र यथार्थ फरक रहेको मृणालको भनाइ छ।
‘कहिले मलाई थाहै नपाई मेरो विवाह हुन लागेको खबर सुन्छु, कहिले के त कहिले के,’ उनले भनिन्, ‘यदि मेरो जीवनमा केही विशेष भइरहेको छ र जानकारी दिनुपर्ने छ भने म आफैँ मेरो आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नेछु।’ उनले अफवाहलाई समाचारको रूप नदिन र कुनै पनि कुरा प्रकाशित गर्नुअघि आफू वा आफ्नो टिमसँग पुष्टि गर्न पत्रकारहरूलाई आग्रह समेत गरेकी छिन्।
छवि खराब गर्ने प्रयासप्रति आक्रोश
मृणालले केवल व्यक्तिगत सम्बन्ध मात्र नभई व्यावसायिक कामलाई लिएर पनि गलत प्रचार भइरहेकोमा आपत्ति जनाएकी छिन्। धेरैजसो फिल्ममा आफूलाई सम्पर्क नै नगरी नाम जोडिने र पछि धेरै पारिश्रमिक मागेकाले फिल्म छोडिन् भन्ने जस्ता भ्रामक समाचार आउने गरेको उनले गुनासो गरिन्।
‘यस्ता कुराकानी कहाँ र कसले गरिरहेको छ? किन एक कलाकारको छवि खराब गर्ने कोसिस गरिन्छ?,’ उनले प्रश्न गरिन्। यस्तै गलतफहमीहरू कम गर्नका लागि आफूले छुट्टै पीआर टिम नै राख्नुपरेको बाध्यता समेत उनले सुनाइन्।
बेबी बम्पदेखि कामको प्राथमिकतासम्म
भ्रामक हेडलाइन बनाउने प्रवृत्तिको आलोचना गर्दै मृणालले फिल्मको सुटिङका क्रममा देखिएको दृश्यलाई लिएर पनि व्यक्तिगत टिप्पणी हुने गरेको बताइन्। ‘यदि म कुनै फिल्ममा गर्भवती महिलाको भूमिका निभाइरहेकी छु र बेबी बम्पसँग बाहिर देखिन्छु भने, त्यसको अर्थ म वास्तविक जीवनमा गर्भवती भएको त होइन नि!,’ उनले भनिन्। सामाजिक सञ्जालमा देखिने सबै कुरा सत्य नहुने भन्दै उनले दर्शक र मिडियालाई फिल्म र पात्रका बारेमा बढी चर्चा गर्न सुझाव दिएकी छिन्।
धनुषसँगको विवाहको हल्ला निराधार रहेको संकेत गर्दै मृणालले आफू अरू कसैको नामको सहाराले अघि बढ्न नचाहेको बताएकी छिन्। उनी आफ्नो पहिचान व्यक्तिगत सम्बन्धभन्दा पनि कडा मेहनत र कामका आधारमा होस् भन्ने चाहन्छिन्।
मृणालका अनुसार अचेल सामाजिक सञ्जालका गफहरूलाई समाचारको रूपमा प्रस्तुत गरिनु चिन्ताको विषय हो।