वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक माहौल तातेको छ ।
परिवर्तन र नयाँ नेतृत्वको एजेन्डासहित नेकपा (एमाले) बाट उक्त क्षेत्रमा चुनावी मैदानमा उत्रिएका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रूपेश कुमार पाण्डेयले आफूविरुद्ध सुनियोजित रूपमा भ्रम फैलाउने प्रयास भइरहेको दाबी गरेका छन् ।
शनिवार घरदैलो पश्चात् स्थानीय सञ्चारकर्मीसँग कुराकानी गर्दै पाण्डेयले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत आफूविरुद्ध झूटा आरोप लगाएर मतदातालाई भ्रमित पार्ने प्रयास भइरहेको बताएका छन् । उनले आफू कुनै पनि बैंकको कालोसूचीमा नरहेको स्पष्ट पारे ।
“व्यवसाय गर्दा बैंकसँग कारोबार गर्नु स्वाभाविक प्रक्रिया हो । व्यस्तताका कारण केही समय व्याज भुक्तानीमा ढिलाइ भएको थियो, तर अहिले सबै दायित्व पूरा भइसकेको छ । म कुनै पनि बैंकको कालोसूचीमा छैन,” उनले भने ।
उनका अनुसार कहिले “अमेरिकाको ग्रिन कार्ड” सम्बन्धी हल्ला त कहिले “बैंकको कालोसूची” जस्ता विषय उठाएर आफूलाई बदनाम गर्ने प्रयास भइरहेको छ । “जनताको विश्वास जित्न नसक्नेहरूले कूटनीतिक षड्यन्त्र र भ्रमको राजनीति गरेर जित्न सक्दैनन्,” उनले ठोकुवा गरे ।
पर्सा–३ मा देखिएको परिवर्तनको माहौल र युवा उम्मेदवार पाण्डेयप्रतिको बढ्दो जनसमर्थनले परम्परागत राजनीतिक शक्तिहरू असहज बनेको उनको दाबी छ । २०४७ सालदेखि स्थापित राजनीतिक संरचनालाई चुनौती दिँदै युवा नेतृत्व अघि बढेको उनी निकट स्रोतको भनाइ छ ।
नेपाल मेघा इन्भेस्टमेन्ट बैंकको कालोसूचीमा परेको भन्दै फैलाइएको आरोपप्रति पनि पाण्डेयले खण्डन गरेका छन् । समर्थकहरूले आर्थिक विषयलाई राजनीतिक हतियार बनाएर बदनाम गर्ने प्रयास भएको प्रतिक्रिया दिएका छन् ।
स्थानीय मतदाताहरूले भने यस पटकको निर्वाचनमा व्यक्तिविरुद्ध आरोप–प्रत्यारोपभन्दा विकास, सुशासन र स्थिरताको बहस केन्द्रमा हुनुपर्ने बताएका छन् । पाण्डेयले पूर्वाधार विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका योजना सार्वजनिक गरिसकेको दाबी गरेका छन् ।
फागुन २१ को निर्वाचनले पर्सा–३ को राजनीतिक दिशा मात्र नभई नयाँ पुस्ताको नेतृत्वप्रतिको जनविश्वास पनि परीक्षण गर्ने देखिएको छ ।