वीरगञ्ज । प्रतिष्ठित उद्योगपति स्वर्गीय बृजलाल केडियाका नाति सञ्जय कुमार केडिया बैंकिङ कसूर मुद्दामा फरार भएका छन्। वीरगञ्ज महानगरपालिका वडा नं. ६ निवासी केडियाविरुद्ध ४० लाख रुपैयाँको चेक बाउन्स प्रकरणमा मुद्दा दायर भएको हो।
प्राप्त जानकारीअनुसार, केडियाले जग्गा किनबेचको सिलसिलामा राजेन्द्र प्रसाद तेलीसँग ४० लाख रुपैयाँ सापटी लिएका थिए। रकम फिर्ता माग गर्दा केडियाले ज्योति विकास बैंक लिमिटेडमा रहेको आफ्नो खाताबाट भुक्तानी हुने गरी तेलीलाई ४० लाख रुपैयाँको चेक दिएका थिए। तर उक्त चेक भुक्तानीका लागि बैंकमा पेश गर्दा खातामा पर्याप्त मौज्दात नभएकाले चेक बाउन्स भएको थियो।
चेक बाउन्स भएपछि तेलीले जिल्ला प्रहरी कार्यालय, पर्सामा उजूरी दिएका थिए। उजूरीपश्चात फरार रहेका केडियाविरुद्ध प्रहरीले अनुसन्धान गरी सरकारी वकिलमार्फत पर्सा जिल्ला अदालतमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम मुद्दा दायर गरेको स्रोतले जनाएको छ।
उक्त मुद्दामा केडियासँग ४० लाख रुपैयाँ असूलउपर गराउनुपर्ने मागसहित बैंकिङ कसूर सम्बन्धी कानुनअनुसार सजायको माग गरिएको बताइएको छ। प्रहरीले फरार रहेका केडियाको खोजी कार्य जारी राखेको जनाएको छ।