×

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामाकान्त चौरसियामाथि उठेका विभिन्न आरोप र असन्तुष्टिले चुनावी माहोल थप पेचिलो बनाएको छ।

स्थानीय मतदाताहरूको भनाइ अनुसार चौरसिया लामो समयदेखि क्षेत्रीय जनसम्पर्कमा सक्रिय नदेखिएका छन्। स्थायी रूपमा पर्सा क्षेत्र नम्बर–२ सँग जोडिएका उनी राजनीतिक संरक्षणको आधारमा क्षेत्र नम्बर–३ मा उम्मेदवारी दिएको चर्चा व्यापक छ। निर्माण व्यवसायसँग सम्बन्धित अनियमितता, गुणस्तरहीन काम र अधुरा योजनाले उनको नैतिकता र जिम्मेवारीमाथि प्रश्न खडा गरेको स्थानीय स्रोतहरूले जनाएका छन्।

साथै, प्रचारप्रसारका क्रममा विद्यालयका बालबालिकालाई प्रयोग गरिएको भन्ने दाबीले आचारसंहिता उल्लङ्घनको आरोप समेत लागेका छन्। यद्यपि, यी विषयमा रास्वपाको जिल्ला वा केन्द्रीय तहबाट औपचारिक प्रतिक्रिया आएको छैन।

स्थानीय राजनीतिक विश्लेषकहरूले चौरसियाको सामाजिक लगानी न्यून र विगतमा मुख्य रूपमा व्यापार–व्यवसायमा केन्द्रित रहेको बताउँदै उनलाई “भोट कटुवा” उम्मेदवारको रूपमा चित्रित गरिरहेको बताएका छन्। राजनीतिक वृत्तमा प्रारम्भमा जेन–जी आन्दोलन र पार्टी नेतृत्वको लोकप्रियताका कारण रास्वपाले केही प्रभाव देखाउन सक्ने अनुमान गरिएको भए पनि, अन्तिम समयमा गरिएको उम्मेदवार छनोटले त्यो प्रभाव कमजोर बनाएको टिप्पणी भइरहेको छ।

पर्सा–३ मा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएकै बेला रास्वपाका उम्मेदवार चौरसिया मतदाताको दृष्टिमा पछि परेको देखिन्छ। पार्टीभित्रै नेता–कार्यकर्तालाई अवसर नदिई आर्थिक हैसियतका आधारमा टिकट वितरण गरिएको आरोपले पनि रास्वपाको आन्तरिक लोकतन्त्र र पारदर्शितामाथि प्रश्न खडा गरेको छ।

आगामी निर्वाचनमा यी आरोप र विवादले निर्वाचन नतिजामा कस्तो प्रभाव पार्ने हो भन्ने विषयमा राजनीतिक विश्लेषकहरू चासोपूर्वक ध्यान दिइरहेका छन्।

Back to top