×

वीरगञ्ज । निर्वाचन नजिकिँदै जाँदा बारा, पर्सा, रौतहट, सर्लाही सीमाक्षेत्र हुँदै ठूलो परिमाणमा नक्कली नेपाली नोट भित्रिने क्रम बढेको संकेत पाएपछि सुरक्षा निकायले उच्च सतर्कता अपनाएका छन्।

हालै रौतहटको वृन्दावन नगरपालिकास्थित विश्रामपुर गाउँमा एक पसलमा पेट्रोल खरिद गर्दा नक्कली नोट प्रयोग भएको घटनाले यस प्रकरण सार्वजनिक भएको हो। पसलेलाई नोटप्रति शंका लागेपछि उनले ग्राहकलाई कुरामा अल्झाएर प्रहरीलाई खबर गरेका थिए। प्रहरीले गरेको आकस्मिक चेकजाँचका क्रममा दुई युवक नक्कली नोटसहित पक्राउ परेका छन्।

प्रारम्भिक अनुसन्धानअनुसार भारतमै छापिएका ५ सय र १ हजार दरका नक्कली नोट व्यवस्थित रूपमा नेपाल भित्र्याइँदै आएको आशंका गरिएको छ। सुरक्षा स्रोतका अनुसार एक लाख सक्कली नेपाली रुपैयाँ बराबर चार लाखसम्म नक्कली नोट उपलब्ध हुने ‘दर’ रहेको विश्वास गरिन्छ, जसले गिरोहको जालो संगठित र गहिरो भएको संकेत गर्छ।

पक्राउ परेकामध्ये विवेक यादव लामो समयदेखि नक्कली नोट कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ। स्रोतका अनुसार चुनावी समयमा नगदको माग बढ्ने अवस्थालाई उपयोग गर्दै ठूलो परिमाणमा नक्कली मुद्रा बजारमा पठाउने तयारी गरिएको आशंका गरिएको छ।

सुरक्षा अधिकारीहरूका अनुसार केही स्थानीय तहका उम्मेदवारहरूले मतदाता प्रभावित गर्न यस्ता नक्कली नोट प्रयोग गरेको हुन सक्ने दाबीसमेत उठ्न थालेको छ। यदि यस्ता आरोप पुष्टि भएमा चुनावी स्वच्छता र लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न खडा हुने देखिन्छ।

अर्थविद्हरूका अनुसार नक्कली नोटको बढ्दो प्रवाहले स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष असर पार्न सक्छ। – बजारमा कुल मुद्रा प्रवाह अनियन्त्रित भई मुद्रास्फीति बढ्ने जोखिम – व्यापारी–उपभोक्ताबीच विश्वास संकट – बैंक तथा वित्तीय प्रणालीमा जोखिम वृद्धि – व्यापारिक गतिविधिमा सुस्ती नक्कली मुद्रा वास्तविक नोटकै रूपमा खर्च हुने भएकाले मूल्य प्रणाली असन्तुलित बन्ने सम्भावना उच्च रहेको विज्ञहरूको भनाइ छ।

सुरक्षा निकायले रौतहट–सर्लाही सीमाक्षेत्रलाई मुख्य प्रवेश नाका मानेर निगरानी कडा बनाइएको जनाएको छ। यद्यपि, गिरोहको जालो गहिरो र संगठित हुन सक्ने आशंका व्यक्त गरिएको छ।

निर्वाचनको संवेदनशील समयमा नक्कली नोटको जोखिमलाई ध्यानमा राख्दै सीमावर्ती क्षेत्रमा थप निगरानी, गुप्तचर सक्रियता र समन्वित कारबाही आवश्यक रहेको सुरक्षा स्रोतले बताएका छन्।

Back to top