वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा (एमाले) का उम्मेदवार जालिम मियाँको पक्षमा बाह्य प्रभाव पार्ने प्रयास भइरहेको आशङ्का सार्वजनिक भएपछि सुरक्षा सतर्कता बढाउन माग गरिएको छ ।
स्थानीय राजनीतिक वृत्तमा बङ्गलादेश, पाकिस्तान तथा भारतलगायत छिमेकी मुलुकबाट केही व्यक्तिहरू नेपाल प्रवेश गरी विशेष समुदायका उम्मेदवारको पक्षमा सक्रिय भएको चर्चा चलेको छ । यद्यपि यसबारे आधिकारिक पुष्टि भने भएको छैन ।
स्थानीय बासिन्दाले अपरिचित व्यक्तिहरू गाउँ–टोलमा देखिन थालेको र उनीहरू विभिन्न धार्मिक स्थल तथा निजी आवासमा बसोबास गरिरहेको दाबी गरेका छन् । निर्वाचनलाई प्रभावित पार्न आर्थिक चलखेल हुन सक्ने आशङ्का पनि व्यक्त गरिएको छ ।
पर्सा क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका उम्मेदवार रमेश रिजाल र जालिम मियाँबिच कडा प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ । केही स्थानीयले निर्वाचनलाई धार्मिक प्रतिस्पर्धाको रूपमा चित्रण गर्ने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
“यहाँ मुद्दा र विकासभन्दा पनि साम्प्रदायिक आधारमा मतदान गराउने प्रयास हुन सक्ने सम्भावना देखिन्छ,” एक स्थानीय मतदाताले बताए ।
राजनीतिक विश्लेषकहरूका अनुसार बाह्य शक्तिको चलखेलसम्बन्धी चर्चा बढ्दै जाँदा मतदाताबिच विभिन्न आशङ्का उत्पन्न हुनु स्वाभाविक भए पनि यस्ता विषयमा आधिकारिक छानबिन र तथ्यपरक पुष्टि आवश्यक हुन्छ । निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन सुरक्षा निकाय तथा सरोकारवाला सबै पक्ष सचेत रहनुपर्ने उनीहरूको सुझाव छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहलले निर्वाचन अनुगमन प्रणाली सक्रिय रूपमा काम गरिरहेको बताएका छन् । “यस्तो गतिविधि भएको पाइएमा जानकारी लिएर सम्बन्धित व्यक्ति तथा उम्मेदवारलाई कानुनी दायरामा ल्याइनेछ,” उनले भने ।