×

वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारहरूबिच चुनावी प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । घरदैलो अभियानको पहिलो चरण सम्पन्न भएसँगै प्रमुख दलका उम्मेदवारहरू नयाँ रणनीतिसहित जनविश्वास आफ्नो पक्षमा पार्न सक्रिय देखिएका छन् ।

पर्साका चार वटै क्षेत्रमा जस्तै क्षेत्र नम्बर २ मा पनि नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल कम्युनिस्ट पार्टी (एमाले) जनता समाजवादी पार्टी, नेपाल (जसपा) लगायतका दलबाट उम्मेदवारहरूबिच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

घरदैलो तथा भेटघाट कार्यक्रम अधिकांश स्थानमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ । स्थानीयवासी, युवा तथा सामाजिक अगुवाहरूको उल्लेख्य सहभागिताले चुनावी माहौललाई थप ऊर्जाशील बनाएको छ ।

काँग्रेसका उम्मेदवार तथा पूर्व मन्त्री अजयकुमार चौरसिया यसअघि ठूलो मतान्तरले विजयी भएका नेता हुन् । उनले अन्तिम पटक चुनाव लडिरहेको बताउँदै जनतालाई आफूलाई जिताउन आग्रह गरिरहेका छन् । यता जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशोक कुमार टेमानीले ‘छाता’ चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्दै मधेस आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने एजेन्डा अघि सारेका छन् । उनले मधेसी, मुस्लिम, महिला तथा अल्पसङ्ख्यक समुदायको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । टेमानीले उद्योग स्थापना गर्दै रोजगारी सृजना गर्ने एजेन्डा पनि अघि सारेका छन् ।

पर्सा–२ मा मधेसी, पहाडी तथा मुस्लिम समुदायको मिश्रित बसोबास रहेको छ । व्यापार, उद्योग, सेवा तथा साना उद्यमसँग आबद्ध मतदाताको सङ्ख्या उल्लेख्य रहेको यस क्षेत्रमा विकास र सुशासन मुख्य चुनावी मुद्दा बनेको छ ।

रास्वपाका उम्मेदवार सुशील कुमार कानु पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । उनी यसअघि वीरगञ्ज महानगरपालिका – १० का वडाध्यक्ष थिए । स्थानीय स्तरमा विकासमुखी र समन्वयात्मक नेतृत्व प्रस्तुत गरेको दाबी उनका समर्थकहरूको छ । स्वच्छ छविसहित चुनावी मैदानमा उत्रिएका कानु युवाहरू माझ निकै चर्चित छन् । वडाध्यक्ष रहे पनि उनले खानेपानी सङ्कटको समयमा क्षेत्रको विभिन्न स्थानमा पुगेर आफ्नो पहलमा बोरिङ जडान गर्न लगाएका थिए । त्यस्तै, उनले कोरोना महामारी, हैजा सङ्कट लगायतको समयमा पनि जनताको बिचमा रहेर काम गरेका छन् । कानुसँग वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्य भएर विभिन्न समितिहरूमा काम गरेको अनुभव पनि छ ।

सोहीगरी एमालेकी उम्मेदवार रिमा कुमारी यादवलाई वीरगञ्जका पूर्व मेयर विजय सरावगीले ‘जेन–जी’ उम्मेदवारका रूपमा प्रस्तुत गर्दै प्रचार अभियान तीव्र बनाएका छन् । साथै वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहको सक्रियताले पनि एमालेको चुनावी अभियानमा ऊर्जा थपिएको देखिन्छ । उनको पक्षमा संविधानसभा सदस्य विचारी यादव पनि खुलेर लागेका छन् । यादव क्षेत्रकै कान्छी उम्मेदवार समेत हुन् । उनले पनि आफूलाई जेन-जीको प्रतिनिधि भनेर प्रचार गरिरहेकी छन् ।

क्षेत्र नम्बर–२ मा अन्तिम चरणको प्रचार–प्रसारसँगै रणनीतिक समीकरण र आन्तरिक व्यवस्थापनले परिणाम निर्धारण गर्ने अनुमान गरिएको छ । चुनावी सरगर्मी बढ्दै जाँदा मतदाताको अन्तिम निर्णय कता जान्छ भन्ने चासो चुलिएको छ ।

Back to top