×

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको माहौल तीव्र रूपमा तातिएको छ । घरदैलो अभियानको पहिलो चरण सम्पन्न भएसँगै उम्मेदवारहरू नयाँ रणनीति र जोसका साथ मतदाताको विश्वास जित्न सक्रिय भएका छन् । पर्सा – १ मा मुख्य रूपमा नेपाली काँग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको छ ।

नेकपा (एमाले) का उम्मेदवार प्रदीप यादव यस पटक ह्याट्रिक जितको अभियानमा छन् । विगतका दुई निर्वाचनमा लगातार विजयी भएका उनी स्वास्थ्य तथा खानेपानी मन्त्री रहँदा कोरोना महामारी, खानेपानी सङ्कट र हैजा जस्ता चुनौतीपूर्ण समयमा जनताको बिचमा रहेर समस्या द्रुत गतिमा समाधान गरेको दाबी गर्दै मत मागिरहेका छन् ।

मधेस केन्द्रित दलहरूबाट राजनीति गर्दै आएका उनले मनोनयन अघि मात्र एमाले प्रवेश गरेका थिए । सोही कारण केही आलोचना भए पनि उनी कामको आधारमा मूल्याङ्कन गरी पुनः निर्वाचित गराउन आग्रह गरिरहेका छन् । ग्रामीण क्षेत्रमा उनको प्रभाव विशेष रूपमा बलियो देखिन्छ ।

यता नेपाली काँग्रेसका उम्मेदवार अनिलकुमार रुङटा पार्टीको पूर्ण समर्थनका साथ आक्रामक चुनावी अभियानमा छन् । विगतका हारको बदला लिने लक्ष्य बोकेका उनलाई पूर्व जिल्ला सभापति अजय द्विवेदी जस्ता प्रभावशाली नेताहरूले खुलेर साथ दिएका छन् । यस पटक फरक शैलीमा प्रस्तुत भएका रुङटाले विकास निर्माणका ठोस एजेन्डा अघि सार्दै विपक्षीहरूसँग कडा प्रश्नहरू पनि सोधिरहेका छन् । उद्योग तथा व्यवसाय क्षेत्रमा बटुलेको अनुभवलाई प्रयोग गर्दै पर्सामा रोजगारी सिर्जना गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्धिप्रसाद पन्त 'हरि पन्त' ले आफूलाई नयाँ तथा वैकल्पिक शक्तिको प्रतिनिधिका रूपमा प्रस्तुत गरिरहेका छन् । शिक्षित तथा युवा मतदाताबिच 'नयाँलाई अवसर दिनुपर्छ' भन्ने भावना बलियो देखिँदा उनको प्रभाव बढ्दै गएको छ । मधेसी समुदायबाट बालेन शाह जस्तै व्यक्तिलाई प्रधानमन्त्री बनाएर इतिहास रच्ने सपना देखाउँदै उनी पुराना दलहरूको भ्रष्टाचार र बेथितिविरुद्ध हिसाब–किताब गर्ने तथा विधिको शासन स्थापना गर्ने एजेन्डा अघि सारिरहेका छन् । बजार तथा सहरी क्षेत्रमा काँग्रेससँग उनको कडा टक्कर देखिएको छ ।

यसैगरी नेकपाबाट उम्मेदवार बनेका सीए अजय चौरसिया पनि अनुभवी तथा पढेलेखेको उम्मेदवारका रूपमा चर्चामा छन् । वित्तीय क्षेत्रमा राम्रो ज्ञान र अनुभव भएका उनले आर्थिक क्रान्तिको मुद्दा बोकेर चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् ।

घरदैलो, भेटघाट र सभाहरू अधिकांश ठाउँमा सौहार्दपूर्ण रूपमा चलिरहेका छन् । स्थानीयवासी, युवा र सामाजिक अगुवाहरूको उत्साहजनक सहभागिताले चुनावी वातावरण झनै तातेको छ । ग्रामीण भेगमा काँग्रेस र एमालेबिच मुख्य भिडन्त छ भने बजार क्षेत्रमा काँग्रेस र रास्वपाबीच कडा प्रतिस्पर्धा देखिएको छ । पुराना दलहरूको साख जोगाउने र नयाँ शक्तिको उदयबिचको लडाइँले मतदाताको अन्तिम निर्णयलाई थप चासोको विषय बनाएको छ । अन्तिम चरणको प्रचारप्रसारसँगै पर्सा–१ को नतिजा कता जान्छ भन्ने प्रतीक्षा बढ्दै गएको छ ।

Back to top