×

वीरगञ्ज । पर्सा जिल्लाको भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत खेमराज खत्री आर्थिक अनियमितता र घुस मागेको पुरानो आरोपमा विवादित भइरहेकै बेला थप आरोप थपिएको छ ।
वीरगञ्ज महानगरपालिका–१० स्थित आदर्शनगर नगर विस्तार क्षेत्रको जग्गा विवादलाई उनीले जानाजानी जटिल बनाएको आरोप लगाइएको छ । यस प्रकरणले स्थानीय जग्गाधनीहरूलाई ठुलो मारमा पारेको पीडितहरूको दाबी छ ।

आदर्शनगर नगर विस्तार क्षेत्रका केही जग्गाधनीहरूले बताएअनुसार, प्रदीप केडिया परिवारले वर्षौँदेखि भोग चलन नगरेको भनिएको जग्गाको आधारमा दिइएको निवेदनलाई आधार बनाएर हालका जग्गाधनीहरूलाई अनावश्यक दुःख दिइएको छ । उनीहरूका अनुसार, यो प्रकरणमा सञ्जय ठाकुर नामक व्यक्तिको संलग्नता रहेको छ र भूमाफियाको सहयोगमा मुद्दालाई किचलो बनाइएको छ ।

“हाम्रो जग्गा वर्षौँदेखि भोगचलनमा छ, तर पुरानो निवेदनलाई आधार बनाएर फाइलहरू झुलाइराखिएको छ,” एक पीडित जग्गाधनीले नाम उल्लेख नगर्ने शर्तमा भने ।

पीडित पक्षका अनुसार, सम्बन्धित फाइलहरूमा स्पष्ट निर्णय नदिई लामो समयसम्म प्रक्रिया रोकिएको छ । यसले गर्दा आदर्शनगर क्षेत्रका जग्गाधनीहरूको दैनिकी प्रभावित भएको छ । केही कित्ता जग्गामा स्वामित्व विवाद सिर्जना गरी प्रशासनिक प्रक्रिया जटिल बनाइएको आरोप पनि खत्रीमाथि लागेको छ । स्थानीयहरूले यसलाई भूमाफिया र प्रशासनको मिलेमतोको रूपमा हेरेका छन् ।

यस विषयमा प्रमुख मालपोत अधिकृत खेमराज खत्रीले भने आफूविरुद्ध लागेका सबै आरोप अस्वीकार गरेका छन् । “मैले कुनै पनि अनियमितता गरेको छैन, सबै प्रक्रिया कानुनअनुसार नै चलेको छ,” प्रतिक्रिया दिँदै उनले भने ।

यद्यपि, यो प्रकरणले मालपोत कार्यालयको कार्यशैलीमाथि प्रश्न चिन्ह खडा गरेको छ । स्थानीय प्रशासनले यस विषयमा छानबिन गर्ने अपेक्षा गरिएको छ ।

Back to top