वीरगञ्ज । पर्सा–३ मा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामाकान्त प्रसाद चौरसिया पछिल्ला दिनमा चुनावी प्रतिस्पर्धामा कमजोर देखिन थालेका छन्। प्रारम्भिक चरणमा ‘घण्टी’ चुनाव चिह्नको प्रभावले केही चर्चा पाएका चौरसिया हाल अन्य दलका उम्मेदवारहरूको तुलनामा ओझेलमा परेको विश्लेषण स्थानीय स्तरमा भइरहेको छ।
विशेषगरी नेपाली कांग्रेस र नेकपा एमालेले आक्रामक प्रचार–प्रसार, घरदैलो अभियान र पार्टी प्रवेश कार्यक्रमलाई तीव्रता दिएको कारण चुनावी समीकरण फेरिएको आकलन गरिएको छ। यी दलका उम्मेदवारहरूले मतदातासँग प्रत्यक्ष सम्पर्क बढाउँदै एजेन्डामुखी बहस अघि सार्दा रास्वपा अपेक्षाकृत निष्क्रिय देखिएको आरोप स्थानीय तहमा लागिरहेको छ।
रास्वपाकै एक नेताका अनुसार यदि वर्तमान अवस्था यस्तै रह्यो भने चौरसियाको मताधार खस्कन सक्ने चिन्ता व्यक्त गरिएको छ। केही स्थानीय विश्लेषकले कांग्रेस उम्मेदवार सुरेन्द्र चौधरीभन्दा समेत चौरसियाको स्थिति कमजोर हुने सम्भावना रहेको बताएका छन्।
त्यस्तै, गैरराजनीतिक क्षेत्रका व्यक्तिहरूले पनि उनको प्रचार शैली, खर्चको प्रदर्शन र विगतका अस्वीकृत व्यक्तिसँगको निकटताको विषयमा प्रश्न उठाएको उल्लेख छ।
पर्सा–३ मा प्रतिस्पर्धा कसिँदै जाँदा रास्वपा उम्मेदवारले रणनीति परिमार्जन नगरे आगामी निर्वाचनमा थप चुनौतीपूर्ण परिस्थितिको सामना गर्नुपर्ने विश्लेषकहरूको निष्कर्ष छ।