वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासङ्घमा लामो समयदेखि योगदान पुर्याउँदै आएका उद्योगी–व्यवसायी अशोककुमार अग्रवाल (टेमानी) यस पटक पर्सा क्षेत्र–२ बाट जनता समाजवादी पार्टी नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका लागि प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनेका छन् ।
६० वर्षीय अग्रवाल वीरगञ्ज महानगरपालिका लोहारपटीका स्थानीय बासिन्दा हुन् । उनी भारतको बिहार विश्वविद्यालयबाट बीकम उत्तीर्ण गरेका छन् । साथै, हार्वर्ड केनेडी स्कुल र एओटीएस जापानबाट कार्यकारी कर्पोरेट म्यानेजमेन्ट सम्बन्धी कोर्स पूरा गरेका छन् ।
तीन दशकभन्दा लामो समयदेखि व्यापार, उद्योग सङ्गठन, कृषि तथा सीमा व्यवस्थापन क्षेत्रमा सक्रिय अग्रवालले अन्तर्राष्ट्रिय शिक्षा र व्यावहारिक अनुभव दुवैलाई आफ्नो मुख्य पुँजीका रूपमा प्रस्तुत गर्दै आएका छन् । पूर्व कराते खेलाडीसमेत रहेका उनले खेलकुद नेतृत्वमा पनि अनुभव हासिल गरेका छन् ।
अग्रवालले वीरगञ्ज उद्योग वाणिज्य सङ्घ, मधेस प्रदेश उद्योग वाणिज्य सङ्घ तथा नेपाल उद्योग वाणिज्य महासङ्घमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । नेपाल–भारत व्यापार तथा पारवहन क्षेत्रका विषयमा उनी विशेष रूपमा सक्रिय रहँदै आएका छन् ।
पर्सा–२ मा विगत निर्वाचनमा जसपाको उल्लेखनीय उपस्थिति रहेको थियो । २०७९ सालको निर्वाचनमा जसपाका उम्मेदवार सुरेन्द्रप्रसाद कुर्मीले २२ हजार ४४५ मत ल्याउँदै दोस्रो स्थान हासिल गरेका थिए । सो आधारमा यस पटक अग्रवालले पार्टीको स्थापित मताधार र स्थानीय प्रभावका आधारमा प्रतिस्पर्धालाई चुनौतीपूर्ण बनाउने अपेक्षा गरिएको छ ।