×

वीरगञ्ज । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर मधेश प्रदेश मा विशेष उत्साह देखिएको छ। वृद्धदेखि युवासम्मका विभिन्न उमेर समूहका मतदाताहरू यसपालिको चुनावले सकारात्मक परिवर्तन ल्याउने अपेक्षामा छन्।

मधेशका विभिन्न जिल्लाहरूमा उम्मेदवारहरूको घरदैलो, सभा तथा भेटघाट कार्यक्रम तीव्र बनेका छन्। मतदाताहरू यसपटकको चुनावलाई निर्णायक रूपमा हेरिरहेका छन्। यद्यपि मतदाताको मनोवृत्ति मिश्रित देखिन्छ। केही पुराना दलप्रति असन्तुष्ट छन् भने केही नयाँ विकल्पप्रति आशावादी छन्। “यसपटक परिवर्तन चाहिन्छ” भन्ने आवाज बलियो सुनिए पनि मतदाताहरू भाषणभन्दा काम गर्ने, विश्वासिलो र इमान्दार नेतृत्वको खोजीमा छन्।

रौतहट जिल्ला की यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी जिना राणाले सबै समुदायलाई समान रूपमा हेर्न सक्ने उम्मेदवार चयन गर्नुपर्ने बताइन्। “हाम्रो समुदायका लागि मात्र होइन, सबै समुदायका लागि ठोस काम गर्न सक्ने उम्मेदवारलाई मतदान गर्ने सोच बनाएका छौँ,” उनले भनिन्। सामाजिक सञ्जालमा हुने प्रचारभन्दा शिक्षा, रोजगारी र आर्थिक मुद्दालाई प्राथमिकता दिनुपर्ने उनको धारणा छ। उनले उम्मेदवारीमा यसपटक केही फरकपन देखिएको उल्लेख गर्दै चुनावपछि सकारात्मक परिवर्तन आउने आशा व्यक्त गरिन्।

त्यस्तै जनकपुर की स्नेहा सिंहले ‘जेनजी’ आन्दोलनपछि देशले नयाँपन खोजिरहेको बताउँदै परिवर्तनका लागि मतदान अनिवार्य रहेको धारणा राखिन्। सबै पुराना दल खराब नभएको उल्लेख गर्दै उनले केही व्यक्तिका कारण पार्टीहरू बदनाम भएको बताइन्। रोजगारी र अर्थतन्त्र अहिलेको मुख्य मुद्दा भएको भन्दै उनले महिलाको उम्मेदवारी अवस्था अझै सन्तोषजनक नभएकोमा असन्तुष्टि जनाइन्।

वीरगञ्ज का समाजसेवी श्याम साहले २०८४ मा हुनुपर्ने निर्वाचन विभिन्न कारणले दुई वर्षअघि हुँदै गर्दा यो चुनाव ऐतिहासिक बन्न सक्ने विश्वास व्यक्त गरे। विकास, उद्यम, स्थिर सरकार, शान्ति सुव्यवस्था र भ्रष्टाचारमुक्त शासन मुख्य मुद्दा बनेको उनको भनाइ छ।

त्यस्तै सप्तरी जिल्ला का युवा हरिओम मेहताले अब सचेत र शिक्षित नेतृत्व आवश्यक रहेको बताए। “नयाँ पार्टी नै हुनुपर्छ भन्ने होइन, जुनसुकै पार्टीका भए पनि काम गर्नेलाई मतदान गर्नुपर्छ,” उनले भने। प्रलोभनमा नपरी विवेकपूर्ण मतदान गर्न र सामाजिक सञ्जालको प्रचारको पछि नलाग्न उनले आग्रह गरे। शिक्षा नै सबैभन्दा महत्वपूर्ण मुद्दा भएको उनको जोड छ।

समग्रमा मधेशका मतदाताहरूले यसपटकको निर्वाचनलाई आशा र दबाब दुवैका रूपमा लिएका छन्। जनताले इमान्दार, काम गर्ने र समान अधिकार सुनिश्चित गर्ने नेतृत्वको अपेक्षा राखेका छन्।

Back to top