वीरगञ्ज । मेक्सिकोको सबैभन्दा खतरनाक लागूऔषध कार्टेल ‘हेलीस्को न्यू जेनेरेसन कार्टेल (सीजेएनजी)’का प्रमुख नेमेसियो ओसेगुएरा सर्भान्टेस (एल मेन्चो) को आइतबार सेनाको विशेष अपरेसनमा मृत्यु भएको छ ।
५९ वर्षीय एल मेन्चो हलिस्को राज्यको तापाल्पा क्षेत्रमा सेना र कार्टेल सदस्यबिच भएको भीषण मुठभेडमा गम्भीर घाइते भएका थिए । घाइते अवस्थामा उनलाई मेक्सिको सिटी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको मेक्सिकोको रक्षा मन्त्रालयले जनाएको छ । अपरेसनमा एल मेन्चोसहित उनका चार जना सहयोगी मारिएका छन् भने तीन जना सैनिक घाइते भएका छन् ।
रक्षा मन्त्रालयका अनुसार अपरेसनमा बख्तरबन्द सवारीसाधन, रकेट लञ्चरसहित ठुलो परिमाणमा हतियार बरामद गरिएको छ । मेक्सिकन सेना, वायुसेना र राष्ट्रिय गार्डको संयुक्त टोलीले यो कारबाही गरेको थियो । अमेरिकाले उपलब्ध गराएको गुप्तचर जानकारीका आधारमा यो अपरेसन सफल भएको रोयटर्सले उल्लेख गरेको छ ।
एल मेन्चो अमेरिकामा फेन्टानिल, कोकिन र मेथामफेटामिन तस्करीको मुख्य नाइके मानिन्थे । अमेरिकी ड्रग एन्फोर्समेन्ट एडमिनिस्ट्रेसन (डीईए) ले उनलाई सिनालोआ कार्टेलको बराबरीको शक्तिशाली नेता ठहर गरेको थियो । उनको बारेमा सूचना दिनेलाई अमेरिकाले १५ मिलियन डलर (१ करोड ५० लाख अमेरिकी डलर) को इनाम घोषणा गरेको थियो ।
एल मेन्चोको मृत्युपछि सीजेएनजीले हलिस्को, ग्वाडलजारा लगायतका विभिन्न राज्यमा व्यापक हिंसा मच्चाएको छ । सवारीसाधनमा आगजनी, सडक अवरोध र सुरक्षाकर्मीमाथि आक्रमणका घटना भएका छन् । ग्वाडलजारामा धुवाँका मुस्लो देखिएका भिडिओ सामाजिक सञ्जालमा भाइरल छन् ।
हलिस्कोका गभर्नरले ‘रेड अलर्ट’ जारी गर्दै नागरिकलाई घरभित्रै बस्न आग्रह गरेका छन् । राज्यमा हजारौँ पर्यटक फसेका छन् । युनाइटेड एयरलाइन्स, अमेरिकन एयरलाइन्स र एयर क्यानडाले केही उडान रद्द तथा मार्ग परिवर्तन गरेका छन् ।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबाउमले नागरिकलाई शान्त रहन अपिल गरेकी छन् । उनले एक्स (ट्विटर) मा लेखेकी छन्, “देशका अधिकांश भागमा गतिविधि सामान्य छ ।”
सन् १९६६ मा मिचोआकान राज्यको गरिब किसान परिवारमा जन्मिएका एल मेन्चो किशोरावस्थामा क्यालिफोर्निया गएका थिए । त्यहाँ उनलाई दुई पटक लागूऔषध तस्करीको आरोप लागेको थियो । सजाय भोगेर मेक्सिको फर्किएपछि उनले छोटो समय प्रहरीको रूपमा काम गरे ।सन् २००७ तिर उनले ‘नाचो कोरोनेल’सँग मिलेर र पछि एरिक भ्यालेन्सिया सालाजारसँग मिलेर सीजेएनजी स्थापना गरेका थिए । सुरुमा हलिस्को राज्यमा सीमित यो समूह अहिले मेक्सिकोभरि र अमेरिकाको ५० वटै राज्यमा फैलिएको छ ।
उनको नेतृत्वमा कार्टेलले सेनाको हेलिकोप्टर खसाल्ने, सरकारी अधिकारीको हत्या गर्ने, प्रतिद्वन्द्वीको शव सार्वजनिक स्थानमा झुन्ड्याउने जस्ता क्रूर घटना गरेका थिए । सन् २०१५ मा पनि सेनाले उनलाई पक्राउ गर्न खोज्दा कार्टेलले हेलिकोप्टर खसाएको थियो ।
पूर्व अमेरिकी ड्रग एन्फोर्समेन्ट अधिकारी माइक भिगिलले यो अपरेसनलाई “लागूऔषध तस्करीको इतिहासकै सबैभन्दा महत्वपूर्ण अपरेसनमध्ये एक” भनेका छन् । पूर्व अमेरिकी राजदूत क्रिस्टोफर ल्यान्डाउले एल मेन्चोलाई “सबैभन्दा रक्तपिपासी र निर्दयी ड्रग लर्ड” भन्दै उनको मृत्युलाई मेक्सिको र अमेरिकाका लागि ठुलो उपलब्धि ठानेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट लागूऔषध तस्करी रोक्न बारम्बार चेतावनी दिँदै आएका थिए । एल मेन्चोको मृत्युले दुई देशबिचको सहकार्य अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।
यद्यपि, विज्ञहरूले कार्टेलको प्रतिशोधले मेक्सिकोमा थप हिंसा निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।