×

वीरगञ्ज । जिल्ला सुरक्षा समितिले पर्साका १६५ मतदानस्थलको अनुगमन तथा निरीक्षणको काम सम्पन्न गरेको छ। जिल्लामा कुल १६७ मतदानस्थल रहेकामा अब दुई मतदानस्थलको मात्र निरीक्षण गर्न बाँकी रहेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालसहित जिल्लाका चारवटै सुरक्षा निकाय र जिल्ला निर्वाचन कार्यालय पर्साले संयुक्त रूपमा मतदानस्थलको अनुगमन तथा निरीक्षण गर्दै आएका छन्। प्रजिअ दाहालले निरीक्षणका क्रममा आवश्यक शान्ति तथा सुरक्षाको रणनीति तयार पारिएको जानकारी दिए।

“हामीले अहिलेसम्म १६५ मतदानस्थलको अनुगमन र निरीक्षण गरिसकेका छौँ, बाँकी रहेका दुई मतदानस्थलको पनि छिट्टै अनुगमन गर्नेछौँ,” उनले भने। भयरहित र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सबै निकायले समन्वय गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तोकिएका मतदानस्थलमध्ये ६२ मतदानस्थललाई अतिसंवेदनशील, ८५ लाई संवेदनशील र २० लाई कम संवेदनशील सूचीमा राखिएको छ।

क्षेत्र नम्बर–१ मा ३४, क्षेत्र नम्बर–२ मा ३८, क्षेत्र नम्बर–३ मा ४७ र क्षेत्र नम्बर–४ मा ४८ मतदानस्थल रहेका छन्। जिल्लाभर ४४१ मतदान केन्द्र तथा दुई अस्थायी मतदान केन्द्र तोकिएका छन्।

चारवटा निर्वाचन क्षेत्र रहेको पर्सामा क्षेत्र नम्बर–१ मा १०३, क्षेत्र नम्बर–२ मा ११० तथा क्षेत्र नम्बर–३ र ४ मा समान ११४–११४ मतदान केन्द्र निर्धारण गरिएको छ।

पर्सा जिल्लामा कुल मतदाता सङ्ख्या तीन लाख ७६ हजार ५१३ रहेको छ। तीमध्ये एक लाख ६४ हजार ४२१ महिला, दुई लाख १२ हजार ७७ पुरुष तथा १५ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मतदाता रहेका छन्। जिल्ला सुरक्षा समितिले सुरक्षित र व्यवस्थित वातावरणमा निर्वाचन सम्पन्न गर्ने तयारीलाई अन्तिम रूप दिइरहेको जनाएको छ।

Back to top