इस्लामाबादः पाकिस्तानले अफगानिस्तानमा तालिबानका सुविधाहरूमा हवाई हमला गरेको छ। जसमा नंगरहार प्रान्तमा रहेको एक प्रमुख गोलाबारुद डिपोसहित महत्वपूर्ण लक्ष्यहरू ध्वस्त पारेको पाकिस्तानले दाबी गरेको छ।
पाकिस्तानी सुरक्षा स्रोतकाअनुसार हमला अफगान तालिबानले बिहीवार साँझ पाकिस्तानी सीमा पोस्टहरूमा आक्रमण गरेपछि शुरु गरिएको थियो। एक प्रमुख गोलाबारुद डिपो, तीन अफगान बटालियन र एक सेक्टर मुख्यालय पूर्णरूपमा ध्वस्त भएका छन्।
यसबाहेक ३६ भन्दा बढी ट्यांक, तोपहरू र सशस्त्र व्यक्तिगत वाहकहरू पनि नष्ट गरिएका छन्। प्रधानमन्त्रीका प्रवक्ता मोशर्रफ जायदीले विज्ञप्ति जारी गर्दै पाकिस्तानी सेनाको प्रतिकारात्मक आक्रमणमा ७२ अफगान लडाकुहरू मारिएको दाबी गरेका छन्। त्यसैगरी, १२० भन्दा बढी घाइते भएको, १६ पोस्टहरू ध्वस्त भएको र सात अफगान पोस्टहरू कब्जा गरिएका छन्।
यसअघि सूचना तथा प्रशारणमन्त्री अत्ताउल्लाह तरारले विज्ञप्ति जारी गर्दै भनेका थिए– अफगान तालिबानले पाकिस्तान–अफगानिस्तान सीमामा रहेका पाकिस्तानी पोष्टहरूमा गोलीबारी गर्दा कम्तीमा दुई पाकिस्तानी सैनिक मारिएको र तीन जना घाइते भएका छन्।
सुरक्षा बलहरूले तत्काल र प्रभावकारी प्रतिक्रिया जनाएको तथा देशले आफ्नो क्षेत्रीय अखण्डता सुनिश्चित गर्न र नागरिकको सुरक्षा तथा रक्षा गर्न सबै आवश्यक उपायहरू अपनाउने सूचना तथा प्रशारण मन्त्री तरारले भनेका थिए।
स्थानीय स्रोतकाअनुसार अफगानिस्तानतर्फबाट प्रहार गरिएका मोर्टार गोलीहरूले पाकिस्तानको उत्तर–पश्चिम खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लाको लगराई क्षेत्रमा रहेको आवासीय इलाकामा खसेपछि कम्तीमा एक महिलाको मृत्यु भएको र पाँच जना घाइते भएका छन्। यो घटनाले दुई छिमेकी देशबीचको तनावलाई थप बढाएको छ, जसमा सीमा क्षेत्रमा पटक–पटक द्वन्द्व भइरहेको छ।