×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. १८, इनर्वा मनयारीमा शुक्रबार भव्य धार्मिक तथा सांस्कृतिक समारोहका बीच ‘पण्डित जटाशंकर तिवारी गुरुकुल आश्रम’ को विधिवत् उद्घाटन गरिएको छ। वैदिक सनातन धर्म र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको आश्रमको उद्घाटनसँगै सम्मान समारोह समेत सम्पन्न भएको हो।

आश्रमका संस्थापक पण्डित जटाशंकर तिवारीका सुपुत्र एवं कार्यक्रमका अध्यक्ष राजन कुमार तिवारीले गुरुकुलमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि कुनै शुल्क नलाग्ने घोषणा गर्नुभयो। “हाम्रो उद्देश्य व्यापार होइन, संस्कारयुक्त समाज निर्माण हो,” उहाँले भन्नुभयो, “यहाँ कुनै पनि जातजातिको भेदभावविना सबैले निःशुल्क रूपमा वैदिक शिक्षा प्राप्त गर्ने अवसर पाउनेछन्।”

कार्यक्रमका प्रमुख अतिथि डा. सुरेन्द्रनाथ तिवारीले दीप प्रज्वलन गरी आश्रमको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा वडा नं. १८ का वडा अध्यक्ष उमाशंकर तिवारी, पण्डित देवनाथ उपाध्याय, पण्डित नरेन्द्र तिवारी, पण्डित हरिनारायण मिश्र र पण्डित कामेश्वर मिश्र विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

त्यसैगरी डा. पुरुषोत्तम दुबे, तेज शमशेर ज.ब.रा., बाबा बजरङ्गी दास, रामचन्द्र राउत कुर्मी, ओमप्रकाश साह कानु र मदन राउत कुर्मीको पनि विशिष्ट आतिथ्य रहेको थियो। अतिथिहरूका रूपमा अभिषेक तिवारी, प्रकाश उपाध्याय, गजेन्द्र पटेल (पूर्व वडा अध्यक्ष, वि.म.न.पा.–१५), विशाल झा, रन्जन सिंह राजपुत, कृष्ण चौरसिया, राम अयोध्या महतो, विशाल तिवारी र राजकुमार सिंह लगायतको सहभागिता रहेको थियो।

सोही अवसरमा हिन्दू धर्म र संस्कृतिको उत्थानमा सञ्चार क्षेत्रबाट योगदान पुर्‍याएको भन्दै हिन्दू पत्रकार संघ नेपाललाई दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।

नेपाल विश्व हिन्दू महासंघ पर्साको सहयोगमा आयोजित कार्यक्रममा वक्ताहरूले गुरुकुल स्थापनाले समाजमा आध्यात्मिक चेतना, अनुशासन र संस्कारको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए।

Back to top