वीरगञ्ज । पर्सा – २ बाट नेकपा (एमाले) की प्रतिनिधिसभा उम्मेदवार रीमा कुमारी यादवले निर्वाचन प्रचारमा एउटा यस्तो एजेन्डा अघि सारेकी छन् जसलाई अहिले सामाजिक सञ्जालमा व्यापक ट्रोलिङ भइरहेको छ । उनले ‘निर्वाचित भए सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि बस सेवा सुरु गर्ने’ घोषणा गरेकी छन् । तर स्थानीयवासीले उनको योजनालाई अनावश्यक र अव्यावहारिक भन्दै रिजेक्ट गरेका छन् ।
भाेटका लागि स्क्रिपेटेड भाषण : पर्सा-२ कि एमाले उम्मेदवार रिमा यादव : भिडियो हेर्न यहा किलिक गर्नुस
क्षेत्रको प्रत्येक गाउँमा सामुदायिक विद्यालय नै रहेको अवस्थामा बस सञ्चालन गर्नुपर्ने कुनै औचित्य नै छैन । “हाम्रा बच्चाहरू घरबाट पैदल वा साइकलमा १०–१५ मिनेटमै विद्यालय पुग्छन् । बस कहाँबाट कसरी चलाउने ?” भन्दै बहुदरमाई – २ का एक स्थानीयले प्रश्न गरे ।
शैक्षिक गुणस्तर सुधार, शिक्षक अभाव, भौतिक पूर्वाधार निर्माण जस्ता वास्तविक समस्या छोडेर यादवले पपुलिस्ट र आकर्षक तर ‘खाली’ एजेन्डा ल्याएर जनतालाई भ्रममा पार्न खोजिरहेको स्थानीयले आरोप लगाएका छन् ।
“उनलाई कुनै भिजन नै छैन । बस चलाउने कुरा सुन्दा हाँस उठ्छ,” एक स्थानीय शिक्षकले नाम नखुलाउने सर्तमा भने । अर्का एक युवाले सामाजिक सञ्जालमा लेखेका छन्, “विद्यालयमा शौचालय र खानेपानी छैन, छानो चुहिन्छ, तर उनी बस ल्याउने कुरा गरिरहेकी छन् । यो त जनतालाई बेवकुफ बनाउने प्रयास हो ।”
रीमा कुमारी यादवको राजनीतिक पृष्ठभूमि पनि शून्य छ । पैसा र पावरको आडमा मनोनयन दर्ताको एक दिन मात्र अगाडि टिकट पाएकी उनको नामसम्म पर्सा–२ का मतदाताले निर्वाचनअघि सुनेका थिएनन् ।
यादवले आजसम्म पार्टीको कुनै जिम्मेवारी लिएकी छैनन्, उनको कुनै सामाजिक योगदान छैन, कुनै आन्दोलन र परिवर्तनको लडाइँमा उनले सङ्घर्ष पनि गरेकी छैनन् । उनी जस्तो ‘हेलिकप्टर उम्मेदवार’ ले जनताको वास्तविक समस्या बुझ्ने र समाधान गर्ने क्षमता राख्छिन् भन्नेमा स्थानीयहरू ढुक्क छैनन् ।
बस सञ्चालन गर्ने एजेन्डाबाट रीमा यादवले पर्सा – २ को वास्तविकता समस्याहरू नबुझेको स्पष्ट हुन्छ । त्यसैले वास्तविक समस्याहरू समाधान गर्न उनले दीर्घकालीन योजनाहरू अगाडि नसारेर पपुलिस्ट योजनाहरू अघि सारेकी छन् । यादव केवल ‘आकर्षक’ तर खोक्रो नारा दिएर भोट माग्न खोज्दै छिन् । पर्सा–२ का मतदाताले यस्तो खोक्रो पपुलिज्मलाई कति दिन सहन सक्छन् ? अब निर्णय उनीहरूकै हातमा छ ।