वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढेसँगै कसले बाजी मार्ला भन्ने विषयमा चर्चा–परिचर्चा तीव्र बन्दै गएको छ। रोचक कुरा के छ भने, विगतका निर्वाचनमा जितेका र हारेका मुख्य अनुहारहरू नै पुनः चुनावी मैदानमा उत्रिएका छन्। यसले प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।
२०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट जनता समाजवादी पार्टी, नेपालका लक्ष्मणलाल कर्ण विजयी भएका थिए। त्यतिबेला नेपाली कांग्रेसका रमेश रिजाल पराजित भएका थिए। त्यसअघि रिजाल विजयी भइसकेका थिए भने २०७९ सालको निर्वाचनमा पनि उनले नै जित हात पारे। यसपटक पनि उनी मैदानमा छन्।
गत चुनावमा रिजाललाई कडा टक्कर दिएका नेकपा-एमालेका जालिम मियाँ पुनः उम्मेदवार बनेका छन्। अहिले पनि मुख्य प्रतिस्पर्धा रिजाल र मियाँबीच हुने अनुमान गरिएको छ। यद्यपि, देशभर चर्चा कमाएको घण्टी चुनाव चिह्नसहित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर शाक्यको उपस्थिति देखिए पनि पछिल्लो समय सार्वजनिक रूपमा देखिएको उनको आचरणप्रति उठेका प्रश्नका कारण उनी मतदातामाझ अपेक्षाकृत छायामा परेको आकलन गरिएको छ।
यस क्षेत्रबाट पहिलो संविधानसभा सदस्यका रूपमा एमालेबाट विजयी भएका जयप्रकाश थारु यस पटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट उम्मेदवार बनेका छन्। एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि नबनाइएपछि उनले नेकपा प्रवेश गरी उम्मेदवारी दिएका हुन्।
यसैगरी, जसपा नेपालबाट डा. कृपासिन्धु चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी बाट शान्तकुमार जोशी, तथा जनता पार्टीबाट सीमादेवी कलवारलगायत गरी २३ दलका उम्मेदवार चुनावी मैदानमा छन्। थप ११ स्वतन्त्र उम्मेदवारसहित कुल ३४ जनाले प्रतिस्पर्धा गरिरहेका छन्।
यद्यपि उम्मेदवार संख्या ठूलो भए पनि चर्चा भने मुख्यतः चार/पाँच जना वरिपरि केन्द्रित देखिन्छ। एमाले र कांग्रेसबीचको परम्परागत प्रतिस्पर्धा नै यहाँको मुख्य बहस बनेको छ। त्यसपछि अन्य दलका उम्मेदवारहरूको सम्भावना र भूमिका मूल्याङ्कन हुँदैछ।
यो निर्वाचनले पर्सा–४ मा पुराना राजनीतिक आधार कति बलिया छन् र नयाँ शक्तिले कति प्रभाव जमाउन सक्छ भन्ने प्रश्नको उत्तर दिनेछ। अन्ततः मतदाताको निर्णयले मात्र कसले अवसरको सदुपयोग गर्ने र कसले हार स्वीकार्ने भन्ने टुंगो लगाउनेछ।