वीरगञ्ज । पर्सा जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी सरगर्मीबीच महत्वपूर्ण कानुनी मोड आएको छ। सर्वोच्च अदालत ले ‘कालोसूची’ सम्बन्धी दायर मुद्दा खारेज गर्ने आदेश दिएपछि नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य पदका युवा उम्मेदवार रूपेश कुमार पाण्डेको चुनावी अभियानले थप गति लिएको छ।
पाण्डेविरुद्ध दायर गरिएको मुद्दा अदालतले खारेज गरेसँगै क्षेत्र नम्बर–३ को राजनीतिक माहोल तातेको छ। स्थानीय मतदातामाझ पाण्डेको जनसमर्थन बढ्दै गएको दाबी उनका समर्थकहरूले गरेका छन्।
यसैबीच विपक्षी दलका उम्मेदवारहरू; नेपाली कांग्रेसका सुरेन्द्र चौधरी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका रमाकान्त चौरसियाले नयाँ परिस्थितिमा आफ्नो चुनावी रणनीति पुनरावलोकन गर्नुपर्ने अवस्था आएको राजनीतिक वृत्तमा चर्चा छ।
एमाले पक्षका कार्यकर्ताहरूका अनुसार पाण्डेविरुद्ध विभिन्न ‘परिपञ्च’ रचिएको आरोप लगाइँदै आएको थियो। अदालतको आदेशसँगै ती आरोपहरू कानुनी रूपमा टुंगिएको भन्दै समर्थकहरू उत्साहित देखिएका छन्।
स्थानीय केही मतदाताले अदालतको निर्णयपछि पाण्डेको जितको सम्भावना बलियो भएको प्रतिक्रिया दिएका छन्। यद्यपि, निर्वाचन परिणाम मतदाताको अन्तिम निर्णयमा निर्भर रहने भएकाले चुनावी प्रतिस्पर्धा अझै खुला नै रहेको विश्लेषकहरूको भनाइ छ।
पर्सा–३ मा अब चुनावी प्रचार–प्रसार झन् तीव्र हुने देखिएको छ। कानुनी जटिलता हटेसँगै उम्मेदवारहरूबीच प्रत्यक्ष मतदाता भेटघाट र कार्यक्रमहरू बढ्ने अपेक्षा गरिएको छ।