×

वीरगञ्ज । इरान र इजरायलबीच चर्किएको युद्धमा अमेरिका समेत प्रत्यक्ष संलग्न भएपछि नेपालजस्तो आयातमुखी र रेमिट्यान्समा निर्भर अर्थतन्त्रका लागि “दोहोरो खतरा” सिर्जना हुने संकेत देखिएका छन्।

विशेषज्ञहरूको विश्लेषण अनुसार, नेपाल इन्धन आपूर्ति र खाडी मुलुकमा रहेका नेपाली श्रमिकमाथि अत्यधिक निर्भर छ। देशको करिब २५–३० प्रतिशत जीडीपी रेमिट्यान्समा आधारित छ भने खाडी मुलुकमा झण्डै १५ लाख नेपाली कार्यरत छन्। हाल युद्ध ती देशहरूमा फैलिएको र तनाव बढेको अवस्थामा छ। पूर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं व्यापार विज्ञ रविशंकर सैंजु ले युद्धले खाडी मुलुकमा रहेका श्रमिकलाई नेपाल फर्कनुपर्ने अवस्था सिर्जना गर्न सक्ने र यसले आन्तरिक बेरोजगारी तथा सामाजिक–आर्थिक दबाब बढाउने चेतावनी दिएका छन्।

खाडी मुलुकमा नेपाली श्रमिकको जोखिम:
परराष्ट्र मन्त्रालयका तथ्यांकअनुसार युएईमा ७ लाख, साउदी अरबमा ३ लाख ८४ हजार ८६५, कतारमा ३ लाख ५७ हजार ९१३, कुवेतमा १ लाख ७५ हजार, ओमनमा २५ हजार, इराकमा ३० हजार, साइप्रसमा १७ हजार, बहराइनमा २८ हजार, यजरायलमा ६५०० र इरानमा ६ जना नेपाली श्रमिक रहेका छन्। युद्ध चर्किएमा यी श्रमिकलाई नेपाल फर्किनुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिन्छ।

इन्धन मूल्य र व्यापार घाटा:
नेपालले सबै इन्धन भारतको इन्डियन आयल कर्पोरेशनबाट आयात गर्ने भएकाले आपूर्ति शृङ्खलामा अवरोध वा मूल्यवृद्धि भए त्यसको असर तत्काल देखिन्छ। हाल निगमसँग १ लाख २ हजार किलोलिटर इन्धन भण्डारण रहेको छ, जसले करिब १३ दिन माग धान्न सक्छ। तर उपलब्ध भण्डारण करिब ८० प्रतिशत मात्रै भएको कारण १० दिनको माग मात्रै पूरा गर्न सकिने विशेषज्ञहरूले चेतावनी दिएका छन्। सोमबार एशियाली बजारमा ब्रेन्ट क्रुड र नायमेक्स लाइट स्वीट आयल दुवैमा ८–१० प्रतिशत मूल्यवृद्धि भएको छ।

ढुवानी लागत, महँगी र खाद्य सुरक्षा:
नेपाल आयातमुखी भएको कारण इन्धन महँगिँदा यातायात लागत बढ्छ। यसको प्रभाव तराईदेखि काठमाडौंसम्म ढुवानी हुने तरकारी, अन्न र अन्य खाद्यपदार्थमा देखिन्छ। युद्धले रेडसी मार्ग असुरक्षित भए जहाजले घुमाउरो बाटो अपनाउनुपर्ने हुँदा शिपिङ चार्ज ३०–४० प्रतिशतसम्म बढ्न सक्ने अनुमान गरिएको छ। यसले गलैंचा, तयारी पोसाक, चिया, अलैंची र पश्मिनाको निर्यात प्रभावित हुने देखिन्छ।

विदेशी मुद्रा सञ्चिति र दीर्घकालीन जोखिम:
नेपालसँग २०२६ को सुरुवातसम्म करिब २२ अर्ब डलर बराबरको विदेशी मुद्रा सञ्चिति छ, जुन करिब १८ महिनाको आयात धान्न पर्याप्त छ। तर रेमिट्यान्स घट्ने र तेल मूल्य उच्च रहने स्थिति लामो समय रह्यो भने मुद्रा सञ्चिति तीव्र रूपमा घट्ने र ‘श्रीलंका शैलीको’ मुद्रा संकट आउन सक्ने चेतावनी विशेषज्ञहरूले दिएका छन्।

सुन–चाँदीको मूल्य उछाल:
अन्तर्राष्ट्रिय बजारमा मध्यपूर्व अस्थिर हुँदा सुन र चाँदीको मूल्य बढ्ने संकेत देखिएको छ। लगानीकर्ताले जोखिमयुक्त सम्पत्तिबाट पैसा निकालेर सुन–चाँदीमा लगानी बढाउने सम्भावना उच्च रहेको छ।

विशेषज्ञहरूले नेपाललाई तत्काल सुरक्षा रणनीति, आपूर्ति व्यवस्थापन, रेमिट्यान्स प्रवाह सुरक्षित राख्ने, इन्धन आपूर्ति सुनिश्चित गर्ने, ढुवानी लागत नियन्त्रणमा राख्ने तथा निर्यात व्यापारलाई असर नपुग्ने उपाय कार्यान्वयन गर्न सुझाव दिएका छन्।

इरान–इजरायल युद्धले नेपाललाई रेमिट्यान्स संकट, इन्धन अभाव, ढुवानी लागत वृद्धिसहित मुद्रास्फीति र निर्यात चुनौतीजस्ता “दोहोरो खतरा”को सामना गराउन सक्ने जोखिम बढाएको विश्लेषण गरिएको छ।

Back to top