वीरगञ्ज । वीरगञ्जमा आसन्न निर्वाचनलाई लक्षित गरी सामाजिक तथा धार्मिक द्वेष फैलाउने र हिंसा भड्काउने नियतले सुतली बम तथा सुँगुरको टाउको बोकेर हिँडेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकका अनुसार, बुधवार बिहान पौने ३ बजेतिर विशेष सूचनाको आधारमा निर्वाचन लक्षित एकीकृत सुरक्षाकर्मीको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका-१६ इनरवा गाउँ क्षेत्रमा खटिएर उक्त कारबाही गरेको हो ।
पक्राउ परेकाहरूबाट प्रहरीले ९ वटा सुतली बम, एउटा सुँगुरको टाउको र १० मिटर वायरिङ तार बरामद गरेको छ । पक्राउ परेकाहरूको नाम तथा परिचय भने प्रहरीले अहिलेसम्म सार्वजनिक गरेको छैन । उनीहरूमाथि थप अनुसन्धान जारी रहेको एसपी पाठकले बताएका छन् ।
प्रहरीको प्रारम्भिक आशङ्काअनुसार, उनीहरूले निर्वाचनलाई भाँड्ने, सामाजिक सद्भाव बिगार्ने तथा धार्मिक द्वेष फैलाउने उद्देश्यले यी विस्फोटक पदार्थ र सुँगुरको टाउको जस्ता संवेदनशील सामग्रीहरू प्रयोग गर्ने योजना बनाएका थिए । विशेष गरी सुँगुरको टाउकोलाई मस्जिद वा अन्य धार्मिक स्थलमा फाल्ने जस्ता कार्यबाट साम्प्रदायिक तनाव सिर्जना गर्ने प्रयास हुन सक्ने प्रहरीको अनुमान छ ।
घटनालाई लिएर प्रहरीले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३, मुलुकी फौजदारी संहिता अन्तर्गत विस्फोटक पदार्थ सम्बन्धी कसुर तथा सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ ।
पर्सामा निर्वाचन तथा होली पर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको संयुक्त टोलीले विशेष निगरानी तथा सर्च अभियान सञ्चालन गरिरहेको छ । प्रहरीले सर्वसाधारणलाई पनि संवेदनशील समयमा सतर्क रहन तथा शङ्कास्पद गतिविधि देखिएमा तुरुन्त सूचना दिन आग्रह गरेको छ ।
घटनाले निर्वाचनको मौन अवधिमा सम्भावित अशान्ति तथा धार्मिक सद्भाव बिगार्ने प्रयासहरूलाई सुरक्षा निकायले समयमै रोकेको देखाउँछ । थप विवरण अनुसन्धानपछि खुल्ने अपेक्षा गरिएको छ ।