वीरगञ्ज । निर्वाचनको पूर्वसन्ध्यामा शंकास्पद वस्तुसहित नियन्त्रणमा लिइएका पर्सा–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोज चौधरीलाई जिल्ला प्रहरी कार्यालय पर्सा ले सार्वजनिक गरेको छ।
बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकले नेकपाका उम्मेदवार चौधरी सवार गाडीबाट ‘होक्स बम’ (नक्कली बम) फेला परेको पुष्टि गर्दै उनीसहित चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए।
प्रहरीका अनुसार पर्सागढी नगरपालिका–को बढनिहार क्षेत्रमा नियमित सुरक्षा जाँचका क्रममा बा १० च १२५० नम्बरको गाडीबाट उक्त शंकास्पद वस्तु बरामद गरिएको थियो। उम्मेदवार सवार गाडीमा शंकास्पद वस्तु भेटिएपछि तत्काल नियन्त्रणमा लिइएको र नेपाली सेनाको टोलीमार्फत सुरक्षित रूपमा डिस्पोज गराइसकिएको प्रहरी उपरीक्षक पाठकले बताए।
पक्राउ पर्नेमा उम्मेदवार चौधरीका साथै गाडीमा सवार अन्य तीन जना रहेका छन्। यद्यपि अनुसन्धान प्रभावित हुन सक्ने भन्दै प्रहरीले अन्य व्यक्तिको विस्तृत विवरण हाललाई सार्वजनिक नगरेको जनाएको छ।
प्रहरीका अनुसार उम्मेदवार चौधरीमाथि निर्वाचनलाई प्रभावित पार्न खोजेको तथा सर्वसाधारणमा त्रास फैलाएको आरोपमा गम्भीर कानुनी प्रक्रिया अगाडि बढाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।