वीरगञ्ज । पर्सा जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना जारी रहेका बेला माओवादी केन्द्रका उम्मेदवार छोटेलाल यादवमाथि पार्टी परिवर्तन गरेको तथा मत प्रभावित गर्ने प्रयास गरेको आरोप लागेको छ।
स्थानीय राजनीतिक वृत्तमा फैलिएको चर्चाअनुसार यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत् स्टाटस लेख्दै पार्टी परिवर्तन गरेको संकेत दिएका छन्। मतगणना चलिरहेकै समयमा यस्तो अभिव्यक्ति सार्वजनिक भएपछि राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएको छ।
यादवले आफू निर्वाचित नहुने स्थिति देखेपछि आफ्नो पक्षमा आउने मत अन्य उम्मेदवारतर्फ मोड्ने प्रयास गरेको तथा केही लाभको लोभमा मत ‘बेचबिखन’ गरेको आरोपसमेत लागेको छ। यद्यपि यी आरोपहरू औपचारिक रूपमा पुष्टि भने भएका छैनन्।
यसैबीच, स्थानीय स्तरमा फैलिएको चर्चाअनुसार यादवले नारायण रौनियारसँग मिलेर पूर्वमन्त्री राजकुमारको इशारामा पर्सा क्षेत्र नम्बर २ र ३ का एमाले उम्मेदवारलाई हराउने रणनीतिमा लागेको भन्ने चर्चा पनि चलिरहेको छ।
तर, यस विषयमा सम्बन्धित पक्षबाट औपचारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन। मतगणना प्रक्रिया भने जारी रहेको निर्वाचन अधिकारीहरूले बताएका छन्।