वीरगञ्ज । गगन थापाले नेपाली काँग्रेसको सभापति पदबाट राजीनामा दिएका छन् । उनले बुधवार उपसभापति विश्वप्रकाश शर्मा लाई राजीनामा बुझाएका हुन् ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीको कमजोर प्रदर्शनपछि नैतिक जिम्मेवारी लिँदै थापाले पद त्याग गरेका हुन् । भोली शुक्रवार चुनावी समीक्षा लगायतका विषयमा केन्द्रीय समिति बैठक बस्ने तयारी छ ।
यस पटक थापा सर्लाही–४ बाट उम्मेदवार बनेका थिए । तर, उनलाई अमरेशकुमार सिंहले पराजित गरेका थिए । निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १८२ सिटसहित पहिलो दल बनेको छ भने यसअघि पहिलो दल रहेको नेपाली काँग्रेस प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिटमा सीमित भएको छ ।
राजीनामा पत्रमा थापाले विशेष महाधिवेशनपछि अत्यन्त छोटो समयमै निर्वाचनको नेतृत्व गर्नुपर्दा चुनौतीपूर्ण परिस्थिति रहेको उल्लेख गरेका छन् । पार्टीभित्र सुधारको प्रक्रिया सुरु भए पनि ‘बदलिएको काँग्रेस’ को सन्देश आम मतदातासम्म प्रभावकारी रूपमा पुर्याउन पर्याप्त समय नपाएको उनको भनाइ छ ।
थापाले विशेष महाधिवेशन नभएको भए परिणाम अझ प्रतिकूल हुन सक्ने दाबी गर्दै वर्तमान नतिजाप्रति आफू पूर्ण रूपमा जबाफदेही रहेको स्पष्ट पारेका छन् । उनले निर्वाचन सकिए लगत्तै राजीनामा दिने मनस्थिति बनाए पनि केही आवश्यक काम सम्पन्न गरेपछि मात्रै औपचारिक रूपमा राजीनामा दिएको जनाएका छन् ।
पार्टी सभापति पदबाट अलग भए पनि काँग्रेस सुधार र पुनर्निर्माणको यात्राबाट आफू अलग नभएको उनले बताएका छन् । आगामी दिनमा देशभर पुगेर कार्यकर्ता र आम नागरिकसँग संवाद गर्ने तथा सुझाव सङ्कलन गर्ने योजना पनि उनले सार्वजनिक गरेका छन् ।
थापाले आफ्नो निर्णयलाई अन्त्य नभई आत्म समीक्षा, जबाफदेहिता र पुनर्जागरणतर्फको प्रारम्भिक कदमका रूपमा व्याख्या गरेका छन् ।
यस्तो छ उनको राजीनामा पत्र–
विशेष महाधिवेशनपछि पार्टी सभापतिको जिम्मेवारी सम्हाल्दै अत्यन्त छोटो समयमै निर्वाचनमा पार्टीको नेतृत्व गर्नु मेरो लागि अवसर र चुनौती दुवै थियो । विशेष महाधिवेशनले केवल नेतृत्व परिवर्तन मात्र गरेको थिएन, त्यो नेपाली काँग्रेसभित्र बहुआयामिक सुधार र आत्म समीक्षाको सुरुवात पनि थियो ।
पार्टीभित्र सुरु भएको परिवर्तनले कार्यकर्तामा उत्साह जगाए पनि आम मतदातासम्म ‘बदलिएको काँग्रेस’ को सन्देश प्रभावकारी रूपमा पुर्याउन पर्याप्त समय प्राप्त हुन सकेन । यस पटकको परिणामका प्रमुख कारणहरूमध्ये समयको यो सीमितता मुख्य कारण रहेको मेरो बुझाइ छ ।
म स्पष्ट छु- यदि विशेष महाधिवेशन सम्पन्न नभई निर्वाचनको सामना गर्नुपरेको भए परिस्थिति र परिणाम अझ प्रतिकूल हुन्थ्यो । तथापि यस निर्वाचनमा पार्टी मेरो नेतृत्वमा सहभागी भएको थियो, त्यसैले मैले कति समय जिम्मेवारी सम्हालेँ वा कुन अवस्थामा सम्हालेँ वा नसम्हालेको भए के हुन्थ्यो भन्ने विषय गौण हो । वर्तमान परिणामप्रतिको जबाफदेहिता मेरो हो भन्नेमा म पूर्णतः स्पष्ट छु ।
निर्वाचन सम्पन्न भए लगत्तै मैले राजीनामा दिने मनस्थिति बनाएको थिएँ तर निर्वाचनसँग सम्बन्धित आफ्नो जिम्मेवारीसँग जोडिएका अन्य आवश्यक कार्यहरू सम्पन्न गर्नुपर्ने भएकोले ती सम्पन्न गर्नासाथ मैले यो राजीनामा पेस गरेको हुँ ।
आगामी दिनहरूमा म देशका विभिन्न भागमा पुगेर पार्टीका साथीहरूसँग र आम नागरिकसँग संवाद गर्नेछु, उहाँहरूको भावना बुझ्नेछु र सुझाव सुन्नेछु । नेपाली काँग्रेसको पुनर्निर्माण तथा सुदृढीकरणको यात्रामा सक्रिय रूपमा थप ऊर्जाका साथ संलग्न रहनेछु ।
आज मैले पार्टीको सभापति पदबाट राजीनामा दिने निर्णय गरेको हुँ, तर पार्टी सुधार र पुनर्निर्माणको यात्राबाट अलग भएको छैन । त्यसैले मेरो यो निर्णय अन्त्य होइन- यो त नेपाली काँग्रेसको आत्म समीक्षा, जबाफदेहिता र पुनर्जागरणतर्फको एउटा प्रारम्भिक कदम हो ।