वीरगञ्ज। नेपाल राष्ट्र बैंक वीरगञ्ज शाखाको आयोजनामा “ग्लोबल मनी वीक २०२६” को अवसरमा बिहीबार प्रभातफेरी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
“स्मार्ट मनी वार्ता, खुलस्त कुरा गर, कुरा गर्न सुरु गर, वित्तीय ज्ञानका साथ बढ” भन्ने नारासहित आयोजित कार्यक्रमले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो।
प्रभातफेरी वीरगञ्जस्थित नेपाल राष्ट्र बैंक शाखाबाट सुरु भई मकालु चौक हुँदै शहरका विभिन्न मुख्य मार्गहरूको परिक्रमा गर्दै घण्टाघरमा पुगेर समापन गरिएको थियो। कार्यक्रममा विभिन्न विकास बैंक, फाइनान्स कम्पनी तथा वाणिज्य बैंकका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरूले हातमा ब्यानर तथा प्लेकार्ड बोकेर वित्तीय ज्ञानको महत्वबारे जनचेतना फैलाएका थिए। बचतको बानी विकास, सुरक्षित लगानी, डिजिटल बैंकिङको प्रयोग तथा जिम्मेवार वित्तीय व्यवहार अपनाउन सर्वसाधारणलाई प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको राष्ट्रिय वाणिज्य बैंक का राहुल ओझाले जानकारी दिए।
कार्यक्रम सुशील पौडेल को नेतृत्वमा सम्पन्न भएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले समुदायमा आर्थिक चेतना अभिवृद्धि गर्दै दीगो आर्थिक विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन्।