×

वीरगञ्ज । नेपाली काँग्रेसको बारा जिल्लामा प्रतिनिधिसभा निर्वाचनपछिको आन्तरिक विवाद तीव्र बनेको छ ।

विभिन्न निर्वाचन क्षेत्रका पराजित उम्मेदवारहरू तथा क्षेत्रीय कार्यसमितिहरूले जिल्ला सभापति राजेश राय यादवसहित दर्जनौँ नेताकार्यकर्तामाथि असहयोग, अन्तर्घात तथा निर्वाचनमा हराउने प्रयास गरेको आरोप लगाउँदै केन्द्रीय अनुशासन समितिमा कारबाहीको माग गरेका छन् ।

बारा क्षेत्र नम्बर ४ का उम्मेदवार श्यामबाबु गुप्ताले जिल्ला सभापति राजेश राय यादव, जिल्ला उपसभापति अमिरिलाल पाल, संविधानसभा सदस्य शोभाकर पराजुली, क्षेत्र नम्बर ४ का सभापति सुनिल गुप्ता, पूर्व महाधिवेशन प्रतिनिधि कृष्ण व्रत सिंह, बारा–४ (ख) का सभापति सुमनकुमार भट्टराई र जितपुर–सिमरा नगरकार्यसमिति सभापति छाबिलाल शर्मालाई लक्षित गर्दै लिखित उजुरी दिएका छन् ।

गुप्ताका अनुसार, नेताहरूले निर्वाचनमा असहयोग गरी आफूलाई पराजित गराउने सक्रिय भूमिका निर्वाह गरेका छन् । उनले उनीहरूलाई तत्काल पार्टी सदस्यताबाट निलम्बन गरी अनुसन्धानात्मक कारबाही गर्न माग गरेका छन् ।

यसैगरी, बारा क्षेत्र नम्बर २ का उम्मेदवार भैयाराम प्रसाद यादवले पनि जिल्ला सभापति राजेश राय यादवलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट पूर्ण निष्कासन गर्न माग गरेका छन् । उनको उजुरीमा यादवका बुवा पूर्व केन्द्रीय सदस्य राधेचन्द्र यादव, क्षेत्र नम्बर २ का सभापति रामप्रवेश यादव, जिल्ला सदस्य रवीन्द्र यादव, प्रदेश क्षेत्रीय कार्यसमिति (क) का सचिव हरेकृष्ण प्रसाद जयसवाल, क्षेत्रीय कार्यसमिति (ख) का सभापति हरिलाल प्रसाद यादव तथा विभिन्न गाउँपालिका र नगरपालिकाका सभापतिहरूसमेत गरी १० जनालाई समावेश गरिएको छ ।

भैयारामले विपक्षीसँग तालमेल गरी चुनाव हराउने हरसम्भव प्रयास गरेको भन्दै यिनीहरूलाई १० वर्षसम्म पार्टीबाट निष्कासन गर्नुपर्ने माग गरेका छन् । उनी निर्वाचनमा ११ हजार ८३७ मत प्राप्त गरी तेस्रो स्थानमा पुगेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका चन्दनकुमार सिंह ३५ हजार ५९० मतसहित विजयी भएका थिए ।

यसबाहेक, बारा क्षेत्र नम्बर ३ का उम्मेदवार तथा पार्टीका सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई असहयोग गरेको भन्दै क्षेत्रीय कार्यसमितिले जिल्ला सभापति राजेश राय यादवसहित १६ जना नेताकार्यकर्ताको नाम कारबाहीका लागि केन्द्रमा सिफारिस गरिसकेको छ ।

क्षेत्रीय सभापति प्रभातकुमार चौरसियाद्वारा हस्ताक्षरित पत्रमा यादवले आफ्ना नातेदार तथा नजिकका कार्यकर्तालाई परिचालन गरी मन्सुरलाई पराजित गराउने प्रयास गरेको स्पष्ट उल्लेख छ । सिफारिसमा ती सबैलाई तत्काल पार्टी सदस्यताबाट निलम्बन गर्न माग गरिएको छ ।

यादवविरुद्ध निरन्तर उजुरी तथा सिफारिसहरूले बारा जिल्ला काँग्रेसभित्रको गहिरो गुटबन्दी, आन्तरिक खटपट र एकताको अभावलाई प्रस्ट रूपमा उजागर गरेको छ । अब नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले उजुरीहरूमाथि कस्तो निर्णय गर्छ भन्नेमा जिल्लाका नेता–कार्यकर्ता तथा सम्बन्धित निर्वाचन क्षेत्रहरूको ध्यान केन्द्रित रहेको छ ।

विवादले पार्टीको सङ्गठनात्मक एकता र भावी निर्वाचन तयारीमा समेत नकारात्मक प्रभाव पार्ने देखिन्छ ।

Back to top