वीरगञ्ज। पर्साको ग्रामीण क्षेत्र पर्सागढी नगरपालिका–१ अन्तर्गत कोइलाभार क्षेत्रमा सुविधासम्पन्न ‘जंगल रिसोर्ट’ सञ्चालनमा आएको छ। कोइलाभार मन्दिर परिसरबाट करिब ५ सय मिटर पश्चिम मधुवन मठवल क्षेत्रमा रिसोर्ट स्थापना गरिएको हो।
बारा जिल्लाको परवानीपुर–५ बहुअरी निवासी समाजसेवी शिवशंकर पटेलका छोरा सुनिल पटेलको करिब ३० लाख रुपैयाँ लगानीमा रिसोर्ट सञ्चालनमा ल्याइएको सञ्चालकले जानकारी दिएका छन्।
एक समारोहबीच पर्सा क्षेत्र नम्बर–२ का नवनिर्वाचित सांसद शुसिल साह कानु ले रिसोर्टको उद्घाटन गरेका हुन्। करिब ३ बिगाहा क्षेत्रफलमा फैलिएको रिसोर्टमा ३ वटा सुविधासम्पन्न कोठा, रेस्टुरेन्टलगायत आवश्यक संरचना निर्माण गरिएको छ।
जंगलको छेउमा शान्त वातावरणमा खानपिन तथा विश्रामको सुविधा दिने उद्देश्यले शहरको कोलाहलभन्दा टाढा रिसोर्ट स्थापना गरिएको सञ्चालक पटेलले बताए। रिसोर्टमा दाउरामा पकाइने शाकाहारी तथा मांसाहारी परिकार सर्वसुलभ मूल्यमा उपलब्ध गराइएको छ।
सिलौटामा पिसिएको मसला प्रयोग गरिने भएकाले परम्परागत देशी स्वाद अनुभव गर्न सकिने तथा जंगल आसपासको गाउँको झल्को दिने वातावरणमार्फत पर्यटकलाई फरक अनुभूति दिने लक्ष्य राखिएको जनाइएको छ।
कोइलाभार मन्दिरमा दर्शन गर्न आउने भक्तजन तथा पर्यटकले हालसम्म सुविधासम्पन्न होटल–रेस्टुरेन्टको अभाव झेल्दै आएको अवस्थामा रिसोर्ट सञ्चालनले उक्त क्षेत्रमा पर्यटन प्रवर्द्धन हुने विश्वास गरिएको छ।
रिसोर्टमा लोकल कुखुरा, हाँस, माछा, खसीलगायतका परिकार अर्डर अनुसार तयार पारिने व्यवस्था गरिएको छ। रिसोर्ट सञ्चालनसँगै ७ जना स्थानीयले रोजगारीसमेत पाएका छन्।