सांकेतिक तस्वीर
वीरगञ्ज। स्थानीय कृषि उत्पादनलाई व्यवस्थित रूपमा बजारसम्म पुर्याउने उद्देश्यले वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र हाटबजार लिमिटेड का प्रतिनिधिहरूबीच भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
सङ्घको सभाहलमा आयोजित कार्यक्रम सङ्घका अध्यक्ष हरिप्रसाद गौतम को अध्यक्षतामा सम्पन्न भएको हो। छलफलमा हाटबजार लिमिटेडका केन्द्रीय अध्यक्ष रामराज आचार्य सँग कृषि उपजको वर्तमान अवस्था, बजारीकरणका चुनौती तथा अवसरका विषयमा विस्तृत संवाद गरिएको थियो।
कार्यक्रममा कृषि क्षेत्रको व्यावसायिक विकास र स्थानीय किसानका उत्पादनलाई उचित मूल्यमा बजारसम्म पुर्याउन निजी क्षेत्रले खेल्न सक्ने भूमिकामाथि विशेष जोड दिइएको थियो।
उक्त कार्यक्रममा सङ्घका महासचिव शिवजीप्रसाद शाह, सचिव प्रेमचन्द्र गोयल र सह–कोषाध्यक्ष निरज अग्रवाललगायत पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले कृषि क्षेत्र सुधारका लागि यस्ता समन्वयात्मक पहलहरूले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।