वीरगञ्ज । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेस पार्टीभित्रकै अन्तर्घातका कारण कम्तीमा २१ निर्वाचन क्षेत्रमा पराजय बेहोरेको निष्कर्ष निकालेको छ ।
पार्टीको जारी केन्द्रीय समिति बैठकमा यो निष्कर्ष निकालिएको हो । प्रवक्ता देवराज चालिसेले जानकारी दिएअनुसार, ५ देखि ३ हजार मतान्तरले हारिएका अधिकांश क्षेत्रमा मुख्य रूपमा आन्तरिक अन्तर्घात जिम्मेवार देखिएको छ ।
३ हजारदेखि ५ हजार मतान्तरका क्षेत्रमा आन्तरिक मतभिन्नतासँगै निर्वाचन अभियानमा देखिएको कमजोरी पनि प्रमुख कारण रहेको उनले बताए । त्यस्तै, ५ हजारदेखि १० हजारसम्म ठुलो मतान्तरले पराजित भएका क्षेत्रमा अन्तर्घातका साथै कमजोर चुनावी क्याम्पेन र प्रतिकूल राजनीतिक ‘न्यारेटिभ’ले पार्टी रक्षात्मक बन्न पुगेको तथा त्यसलाई प्रभावकारी रूपमा सामना गर्न नसकिएको कारण हार बेहोर्नुपरेको प्रवक्ता चालिसेको भनाइ छ ।
केही निर्वाचन क्षेत्रमा सङ्गठनात्मक कमजोरी मात्र नभई मतदाताको काँग्रेसप्रतिको विश्वासमा समेत कमी आएको देखिएको उनले उल्लेख गरे । पार्टीमा ८ लाख ५० हजारभन्दा बढी क्रियाशील सदस्य रहे पनि अपेक्षित मत प्राप्त गर्न नसक्नु गम्भीर प्रश्न बनेको छ ।
उनका अनुसार, ९औँ महाधिवेशनमा करिब १ लाख सदस्य रहेको काँग्रेस १४औँ महाधिवेशनसम्म आइपुग्दा ८ लाख ७० हजार पुगेको छ, तर प्राप्त मत भने १७ लाख ५९ हजार मात्र छ । सदस्यता बढ्दै जाँदा मत घट्दै जानु चिन्ताजनक रहेको प्रवक्ताले बताए ।
जारी केन्द्रीय समिति बैठकमा निर्वाचनको विस्तृत समीक्षा भइरहेको छ । बैठक मुख्य रूपमा निर्वाचन परिणामको समीक्षा र सभापतिको राजीनामा सम्बन्धी विषयमा केन्द्रित रहेको छ । बैठकले पार्टीका कमजोरी सुधार गरी फेरि सशक्त बनाउँदै जनतामाझ लैजाने कार्यदिशा तय गर्ने लक्ष्य राखेको प्रवक्ता चालिसेले जानकारी दिए ।
समीक्षाले नेपाली काँग्रेसलाई आगामी दिनमा सङ्गठन सुदृढीकरण, आन्तरिक एकता र मतदाता विश्वास पुनः आर्जनमा जोड दिने सङ्केत गरेको छ ।