वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भएका बुद्धि प्रसाद पन्त (हरि) ले आफ्नो चुनावी खर्चको पूर्ण विवरण सार्वजनिक गरेका छन् ।
पन्तका निर्वाचन प्रतिनिधि महमद मसुदिन आलमले जिल्ला निर्वाचन कार्यालय पर्सामा कुल १० लाख २२ हजार ७ सय रुपैयाँ बराबरको खर्च विवरण दर्ता गराएका हुन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा निर्वाचन आचारसंहिताअनुसार निर्वाचन सम्पन्न भएपछि उम्मेदवारले खर्च विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था छ । पन्तले सोही नियम पालना गर्दै छोटो समयमै विवरण पेस गरेर चुनावी प्रक्रियामा पारदर्शिता कायम गर्ने प्रयास गरेको देखिन्छ ।
खर्चको ठुलो हिस्सा यातायात र प्रचारप्रसार सामग्रीमा केन्द्रित भएको छ । विवरणअनुसार दुई थान सवारी साधन भाडामा २ लाख ६० हजार रुपैयाँ खर्च भएको छ भने फ्लेक्स प्रिन्टिङमा १ लाख ३५ हजार रुपैयाँ तथा अन्य प्रचार सामग्री छपाइमा १ लाख ६५ हजार ५ सय ५० रुपैयाँ प्रयोग गरिएको छ ।
यसैगरी झन्डा निर्माणमा मात्रै १ लाख २३ हजार रुपैयाँ खर्च भएको उल्लेख छ । कार्यकर्ता तथा स्वयंसेवकहरूका लागि खाजा, गोष्ठी र सम्मेलन व्यवस्थापनमा १ लाख ४० हजार १ सय ५० रुपैयाँ, मतदाता नामावली प्रिन्टमा २२ हजार रुपैयाँ र उम्मेदवारी दर्ता शुल्कबापत १० हजार रुपैयाँ खर्च भएको विवरणमा समावेश गरिएको छ ।
विभिन्न शीर्षकका खर्चहरूले पन्तको चुनावी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ । अन्य उम्मेदवारहरूले पनि आफ्ना खर्च विवरण सार्वजनिक गरिरहेका बेला यो कदमले समग्र निर्वाचन प्रक्रियालाई थप विश्वसनीय र जबाफदेही बनाउने अपेक्षा गरिएको छ ।