×

वीरगञ्ज । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित होटेल सङ्घ पोखरा नेपालद्वारा सञ्चालनमा रहेको ‘जाऔँ है पोखरा’ अभियानअन्तर्गत वीरगञ्जमा विशेष प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड र गण्डकी प्रदेश पर्यटन प्रवर्द्धनको सहकार्यमा पूर्वी नेपालका सहरहरू वीरगञ्ज, विराटनगर र इटहरीमा अभियान विस्तार गरिएको हो ।

कार्यक्रम वीरगञ्जस्थित होटेल मकालुमा सम्पन्न भएको छ । आयोजकका अनुसार अभियानको मूल उद्देश्य आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि गर्नु र पोखरालाई थप आकर्षक तथा सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्नु हो ।

कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले पर्यटन क्षेत्र समृद्धिको आधार भएकाले राज्य, निजी क्षेत्र र सञ्चारकर्मीबिच सहकार्य अपरिहार्य भएको बताए । उनका अनुसार पर्यटकले भोगिरहेको सेवा–सुविधाको कमी, व्यवस्थापन कमजोरी र यातायात कठिनाइका चुनौती समाधान गर्न ऐक्यबद्ध प्रयास आवश्यक छ ।

नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जाराले पर्यटन प्रवर्द्धनमा सञ्चार क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै देखिएका समस्याहरूलाई योजनाबद्ध रूपमा समाधान गर्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव अशोक तिवारी, केन्द्रीय लेखा संयोजक केसी लामिछाने तथा अन्य वक्ताहरूले पनि पर्यटन क्षेत्रमा दीर्घकालीन रणनीति आवश्यक रहेको धारणा व्यक्त गरे ।

अन्तर्राष्ट्रिय परिस्थितिका कारण बाह्य पर्यटक आगमन घटेको वर्तमान अवस्थामा आन्तरिक पर्यटन सक्रिय बनाउन अभियान सञ्चालन गरिएको आयोजकले बताएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हवाई तथा स्थल कनेक्टिभिटी विस्तार हुँदै गएकाले सो अभियानले थप प्रभावकारी परिणाम ल्याउने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रमका अध्यक्ष लक्ष्मण सुवेदीसहित होटेल व्यवसायी, उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले आ–आफ्नो स्तरबाट सक्रिय सहयोग पुर्‍याई पर्यटन प्रवर्द्धनमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अन्त्यमा, आयोजकले सुरक्षित, स्वच्छ र शान्त वातावरणमा पोखरा भ्रमण गर्न सहभागी र सर्वसाधारणलाई आग्रह गर्दै ‘जाऔँ है पोखरा’ अभियान सफल बनाउन सबैको साथ–समर्थन आवश्यक रहेको धारणा व्यक्त गरेको छ ।

Back to top