×

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुले मधेसको मौलिक पहिरन धोती, कुर्ता र पगडी लगाएर आफ्नो मातृभाषा भोजपुरीमा पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

आज बिहीबार सिंहदरबारमा आयोजित नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहण कार्यक्रममा सांसद कानु धोती, कुर्ता र पगडीमा सजिएर भोजपुरी भाषामै शपथ ग्रहण गर्ने जनाएका हुन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ बाट उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट निर्वाचित भएका थिए ।

सांसद कानुले आफ्नो भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि यो कदम चालेको बताएका छन् । शपथसँगै संसद् भवन प्रवेश गर्ने पहिलो दिन नै उनले मधेसको मौलिक पहिचान झल्काउने परम्परागत पहिरन — धोती, कुर्ता र पगडी लगाउने पनि तयारी गरेका छन् ।

‘संसद् भवन प्रवेश गर्ने आज पहिलो दिन हो । आफ्नो मधेस र मधेसी समुदायको मौलिक पहिरन धोती, कुर्ता र पगडी लगाएर संसद् भवन प्रवेश गर्छु,’ कानुले यात्रा डेलीलाई बताए, ‘आफ्नो मौलिकता झल्काउने पहिरन लगाएर संसद् भवनमा प्रवेश गर्दै मातृभाषामा शपथ लिनु मेरो लागि धेरै ठुलो कुरा हो । यसले भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सहयोग पुर्‍याउँछ ।’

सुशील कुमार कानुको निर्णयले मधेसका मौलिक भाषा र सांस्कृतिक पहिचानलाई संसदीय मञ्चमा उजागर गर्ने अपेक्षा गरिएको छ ।

Back to top