×

वीरगञ्ज । मर्यादा पुरुषोत्तम भगवान् श्री रामचन्द्रको जन्मोत्सव रामनवमी पर्व आज शुक्रवार देशभर पूजा–आराधना, भजन कीर्तन र विभिन्न धार्मिक कार्यक्रम गरी मनाइँदै छ । चैत्र शुक्ल नवमीका दिन मनाइने यस पर्वको अवसरमा सरकारले आज देशै भरी सार्वजनिक बिदा दिएको छ ।

त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा भगवान् श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उनको जन्मका बेला पुनर्वसु नक्षत्र थियो भने कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्न को योग परेको थियो । उनको कुण्डलीमा सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ रहेको दुर्लभ पञ्चग्रही योग परेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।

वासन्तीय नवरात्रको नवमी तिथिमा जन्मनुभएका भगवान् रामले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्यको स्थापना गरेका थिए । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, रामनवमी पर्व मनाउनुको मुख्य महत्त्व भनेको रामजस्तै मर्यादित, अनुशासित र नियन्त्रित राज्य सञ्चालकको आशा गर्नु हो ।

गाग्र्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा, जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने उल्लेख छ । यस अवसरमा देवी पूजा गरी रामचन्द्रको आराधना गर्नाले ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ ।

नेपालको जनकपुरधाम र भारतको अयोध्यामा आज रामलीला प्रदर्शन भइरहेको छ । परापूर्व कालमा वासन्तीय नवरात्रलाई नै मूल दसैँ मानिने गरिन्थ्यो । तर, गर्मीका कारण असोजमा मनाउन थालिएको भनाइ छ । चैत र असोजको नवरात्रलाई जाग्रत दसैँ भनेर महत्त्व दिइन्छ भने पुस र असारको नवरात्रलाई सुषुप्त दसैँ भनिन्छ ।

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने यस पर्वमा देशभरका राम मन्दिरहरूमा विशेष पूजापाठ, राम गीता पाठ, वाल्मीकीय रामायण, तुलसीकृत रामचरितमानस र भानुभक्तीय रामायणको वाचन तथा रातभरि भजन कीर्तन गर्ने परम्परा छ । पवित्र नदी, ताल र कुण्डहरूमा स्नान गरी व्रत बस्नेहरूको पनि आज बाहुल्य छ ।

वीरगञ्जमा महाआरती उत्सव

राम नवमीकै उपलक्ष्यमा आज वीरगञ्जको ऐतिहासिक एवं धार्मिक धरोहर गहवा माई मन्दिर परिसरमा महाआरती उत्सव आयोजना गरिँदै छ । गहवा माई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम कुमार पोखरेलका अनुसार, चैत १३ गते साँझ ६ बजे मन्दिर परिसरमा महाआरती कार्यक्रम हुनेछ ।

भगवान् रामले मिथिलाका राजा जनककी छोरी सीता सँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गर्नुभएको र पिताको कठोर आज्ञालाई सहजतापूर्वक पालन गर्दै मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिनुभएको धार्मिक ग्रन्थहरूमा वर्णन छ । उनको जन्म स्मृतिमा मनाइने रामनवमीले हिन्दु धर्मावलम्बीहरूलाई धर्म, कर्तव्य र मर्यादा पालनाको सन्देश दिन्छ ।

आजको यो पर्वले सबैमा रामराज्य को भावना जागृत होस् र समाजमा सत्य, न्याय र मर्यादाको स्थापना होस् भन्ने कामना गरिएको छ ।

Back to top