×

वीरगञ्ज । अघिल्लो संसद्मा दोस्रो ठुलो दल बनेको नेकपा (एमाले) यस पटक तेस्रो दल बन्न पुगेको छ । एमाले २०६४ सालको पहिलो संविधानसभा निर्वाचन यता पहिलो पटक रक्षात्मक अवस्थामा पुगेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको आकर्षण बढेर दुई तिहाइ नजिक मत पाउँदा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित अधिकांश उम्मेदवार पराजित भएका छन् ।

अहिले एमालेभित्र शुद्धीकरण तथा नयाँ नीतिसहित अगाडि बढ्नुपर्ने आवाज उठिरहेको छ । कतिपयले ओलीको नेतृत्वमा एमाले अगाडि बढ्न नसक्ने बताइरहँदा कतिपयले भने जरैदेखि शुद्धीकरण गरेर एमालेलाई नयाँ सिराबाट अगाडि लैजानुपर्ने आवाज उठाइरहेका छन् ।

यसैबिच, एमाले पर्सा ३ का नेता रुपेश कुमार पाण्डेय अब पार्टीलाई नयाँ सिराबाट अगाडि बढाउनका लागि गाउँ गाउँमा खटिनुपर्ने आवाज उठाएका छन् । पार्टीभित्र उनको मत बलियो बन्दै गएको छ । उनले पार्टीलाई एकताबद्ध बनाउने, निर्वाचनमा एमालेमा बसेरै फरक दललाई सहयोग गरेका नेता तथा कार्यकर्ताहरूको पहिचान गरी निर्मम रूपमा समीक्षा र कारबाही गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

उनी प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का एमालेका तर्फबाट पराजित भए । उनलाई रास्वपाका उम्मेदवारले पराजित गरेका थिए । त्यससँगै उनले आफू सांसद नभए पनि गाउँमै र गाउँकै विकासमा खटिने सन्देश दिइसकेका छन् । उनले पार्टीलाई पनि गाउँ गाउँमा नयाँ ढङ्गबाट अगाडि बढाउने योजना बनाइरहेका छन् । पाण्डेयको अबको योजना के ? पार्टी अब कसरी अगाडि बढ्नुपर्छ भन्ने लगायतका समसामयिक विषयमा हामीले पाण्डेयसँग कुराकानी गरेका छौँ । हेरौँ, पाण्डेयसँगको कुराकानीको सम्पादित अंश:

पर्सा क्षेत्र नम्बर ३ मा तपाईँको राजनीतिक प्राथमिकता के रहनेछ?

पर्सा–३ मा दुई वटा नगरपालिका र पाँच वटा गाउँपालिका छन् । मेरो पहिलो प्राथमिकता भनेको पार्टीलाई एकताबद्ध बनाउनु हो । विगतमा भएका कमजोरीहरूलाई सच्याउँदै सबै तहमा कार्यकर्तालाई सङ्गठित गरेर अगाडि बढ्नेछु । यस क्षेत्रका सबै स्थानीय तहमा एमालेलाई विजयी गराउने लक्ष्यका साथ सक्रिय रूपमा खटिने योजना छ ।

हालैको निर्वाचनमा तपाईँ सहित पार्टीले नै किन ठुलो पराजय बेहोर्नुपरेको जस्तो लाग्छ ?

पार्टी बाहिर एकदमै बलियो थियो । तर भित्र निकै नै मक्किएको अवस्थामा थियो । यही अवस्थामा पार्टीका केही गलत प्रवृत्तिका पात्रहरूले एमालेमा अवसर लिएर अन्य दललाई सहयोग गरे । पार्टी नेतृत्वले पार्टीभित्रको समस्या पहिले नै चिनेर समाधानका लागि अगाडि बढ्नुपर्नेमा त्यसो गर्न सकेनन् । जसले गर्दा अहिले समस्या भयो । पार्टीले ठुलो पराजय बेहोर्नुको अर्को कारण राजनीतिक बेइमानी पनि हो । एउटा पार्टीको सदस्य बनेर अर्को पार्टीका नेता जिताउन मत माग्ने जुन गैर राजनीतिक काम भयो, त्यो माफी दिनै नसकिने अपराध जस्तै हो । यसलाई हटाउन पार्टी नेतृत्व निर्मम बन्न जरुरी छ ।

पार्टीभित्रको अनुशासन र आन्तरिक समस्या समाधान कसरी गर्न सकिन्छ ?

पार्टीभित्र अनुशासन अत्यन्तै महत्त्वपूर्ण कुरा हो। एमालेको झन्डामुनि बसेर अन्य चिन्हमा भोट माग्ने, पार्टीविरुद्ध काम गर्नेहरूलाई कडाइका साथ कारबाही गर्नुपर्छ । यस्ता गतिविधिले सङ्गठन कमजोर बनाउँछ । त्यसैले पार्टी कमिटीले प्रत्येक क्षेत्रमा छलफल गरेर अनुशासन उल्लङ्घन गर्नेहरूलाई पहिचान गरी कारबाही गर्नुपर्छ ।

तपाईँले ‘शुद्धीकरण अभियान’ को कुरा गर्नुभएको छ, एमालेमा यो सम्भव छ ?

हो, यो सम्भव छ र एकदमै आवश्यक पनि छ । हामीले एक महिनाको समय दिएर पार्टीभित्र शुद्धीकरण अभियान चलाउनुपर्छ। यो अवधिमा पार्टीभित्र रहेका समस्या, कमजोरी र गुटबन्दीको ‘क्यान्सर’ पत्ता लगाएर त्यसलाई निर्मूल पार्न सकिन्छ । पार्टीमा रहेका धमिराहरूलाई चिनेर कारबाही गरेपछि मात्रै सङ्गठन बलियो हुन्छ र फेरि नयाँ उचाइमा पुग्न सक्छ ।

स्थानीय तह निर्वाचनमा यसको प्रभाव कस्तो पर्ला?

यदि हामीले पार्टीलाई अनुशासित र एकताबद्ध बनाउन सक्यौँ भने यसको प्रत्यक्ष प्रभाव स्थानीय तह निर्वाचनमा देखिन्छ । कार्यकर्ताको मनोबल बढ्छ, मतदातामा सकारात्मक सन्देश जान्छ र एमालेले राम्रो मत प्राप्त गर्न सक्छ। त्यसैले अहिलेको मुख्य काम भनेकै सङ्गठन सुदृढीकरण हो ।

अन्त्यमा, पर्सा–३ का मतदातालाई तपाईँको सन्देश के छ?

म पर्सा–३ का सम्पूर्ण मतदातालाई आश्वस्त पार्न चाहन्छु कि हामी सुधार र एकताको बाटोमा अघि बढिरहेका छौँ । पार्टीलाई मजबुत बनाउँदै विकास र समृद्धिका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

Back to top