×

वीरगञ्ज । गृहमन्त्री सुधन गुरूङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएको जानकारी दिएका छन्।

गुरूङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै’ प्रमिस इज अ प्रमिस’ कानुनभन्दा माथि कोही छैन’ भन्दै दुवै नेतालाई उनीहरूको निवासबाट नियन्त्रणमा लिइएको बताएका हुन्। उनले यो कदम कसैप्रति प्रतिशोध नभई न्याय प्रक्रिया सुरु गर्ने उद्देश्यले चालिएको उल्लेख गरेका छन्।

‘यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो,’उनले लेखेका छन्। गृहमन्त्री गुरूङले अब देशले नयाँ दिशा लिने विश्वाससमेत व्यक्त गरेका छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरले ज्यानसम्बन्धी कसूरसमेतको मुद्दामा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेर दुवैलाई समातेको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरको अपराध अनुसन्धान तथा कारबाही शाखाबाट जारी गरिएको पक्राउ पुर्जीमा ओलीलाई तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाउन आवश्यक रहेको उल्लेख गरिएको छ।

पक्राउ पुर्जी शनिबार नै जारी गरिएको हो। अनुसूची–९ अन्तर्गत दफा ९ को उपदफा (६) अनुसार अनुसन्धानका लागि पक्राउ गर्नुपर्ने अवस्था देखिएकाले पुर्जी जारी गरिएको हो ।

Back to top