वीरगञ्ज । सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार बुढानीलकण्ठबाट पक्राउ गरेको खड्कालाई स्वास्थ्य जाँचपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको विभागका अधिकारीहरूले बताएका छन्।
सीआईबीका एआईजी मनोज केसीका अनुसार पक्राउपछि खड्कालाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाइएको थियो। विभागका एक अधिकृतका अनुसार हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भएकाले स्वास्थ्य परीक्षण अनिवार्य थियो, परीक्षणका क्रममा स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो।
विभागका निर्देशक जितेन्द्र अधिकारीले अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान जारी रहेको जानकारी दिए। उनले भने, “हामीसँग हिरासत सुविधा नभएकाले पक्राउ परेपछि प्रहरीलाई बुझाएका थियौं, अनुसन्धान भने विभागकै टोलीले गर्दैछ।”
खड्काको सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा सीआईबीले प्राविधिक सहयोग उपलब्ध गराउने र विभागले विस्तृत छानबिन गर्ने जनाइएको छ।