×

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले एएफसी एसियन कप २०२७ को तेस्रो चरणको छनोटअन्तर्गत आफ्नो अन्तिम खेलमा आज लाओसको सामना गर्दै छ।

समूह एफ को यो अन्तिम खेल आज नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ। न्यू लाओस नेशनल स्टेडियममा हुने यो खेल दुवै टोलीका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ । दुवै टोली यसअघि नै छनोट चरणबाटै बाहिरिइसकेका छन्।

नेपालका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाको भने यो पहिलो आधिकारिक प्रतिस्पर्धा हो। त्यसैले एरेनाले यस खेललाई खेलाडीहरूको क्षमता मापन गर्ने अवसरको रूपमा लिएका छन् भने उनी स्वयंका लागि चाहिँ यो महत्त्वपू्र्ण रणनीतिक परीक्षण हुनेछ।

एरेनाले टोलीमा व्यापक परिवर्तन गर्दै पाँच नयाँ अनुहारलाई राष्ट्रिय टोलीमा समावेश गरेका छन्। जसमा मिडफिल्डर पेम्बा दोर्जे लामा, फरवार्ड मिलन राई, युवराज खड्का, मिडफिल्डर रोमन भुजेल र गोलरक्षक योगेश धिमाल रहेका छन्।

तर, नेपाली टोलीका लागि सबैभन्दा ठूलो आश्चर्य भनेको कीर्तिमानी गोलकर्ता अञ्जन विष्टको अनुपस्थिति हो। अञ्जनसँगै मिडफिल्डर एरिक विष्ट र लाकेन लिम्बू पनि यसपटक टोलीमा अटाएका छैनन्। टोलीको कप्तानी भने अनुभवी गोलरक्षक किरण चेम्जोङले सम्हाल्दै छन्।

हेड टु हेडमा नेपाल लाओसमाथि हाबी भएको देखिन्छ। हालसम्म भएका ६ भेटमा नेपालले ४ खेल जितेको छ भने १ खेल बराबरीमा सकिएको छ। यद्यपि, सन् २०२५ जुनमा भएको पछिल्लो भिडन्तमा भने नेपाल लाओससँग २(१ गोलअन्तरले पराजित भएको थियो ।

फिफा वरीयतामा १ सय ८२ औँ स्थानमा रहेको नेपाल र १ सय ९० औँ स्थानमा रहेको लाओस दुवै यस खेलमा जित निकाल्दै छनोटको सुखद अन्त्य गर्न चाहन्छन्।

अखिल नेपाल फुटबल संघ(एन्फाको आन्तरिक विवाद र पूर्वाधार मापदण्डमा दशरथ रंगशाला अयोग्य भएका कारण नेपालमा हुनुपर्ने यो खेल लाओस पुगेको हो।

Back to top