वीरगञ्ज । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ का लागि पर्सा जिल्लामा सबै तयारी पूरा भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ पर्साका अनुसार यस वर्ष जिल्लाबाट कुल १० हजार ७०३ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।
जिल्लाका १५३ वटा विद्यालयबाट विद्यार्थीहरू परीक्षार्थी बन्ने छन् । जसमध्ये ७० वटा सामुदायिक र ८३ वटा निजी विद्यालय रहेका छन् । परीक्षा भोली बिहीबार (चैत १९ गते) बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ र चैत २९ गतेसम्म चल्नेछ ।
शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख मोतीप्रसाद भट्टराईका अनुसार जिल्लामा ग्रामीण क्षेत्रका १४ र सहरी क्षेत्रका १३ गरी कुल २७ वटा परीक्षा केन्द्र तोकिएका छन् । परीक्षा व्यवस्थापनका लागि १ हजार ३०४ जना जनशक्ति परिचालन गरिने भएको छ । जसमा २७ जना केन्द्राध्यक्ष, ५८ जना सहायक केन्द्राध्यक्ष, ५२३ जना निरीक्षक, ९२ जना परीक्षा सहायक, १९९ जना कार्यालय सहयोगी र ४०५ जना सुरक्षाकर्मी रहेका छन् ।
केन्द्राध्यक्षहरूका लागि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । सबै परीक्षा केन्द्रका लागि प्रश्न पत्र नजिकका प्रहरी चौकीमा सुरक्षित रूपमा पुर्याइसकिएको र बाँकी आन्तरिक तयारी तीव्र गतिमा भइरहेको एकाइले जनाएको छ ।
पर्सामा यस वर्षको एसइई परीक्षा मर्यादित, शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ ।
नतिजा एक महिनाभित्रै प्रकाशन गर्ने तयारी
यसैबिच, शिक्षा मन्त्रालयले एसइईको नतिजा परीक्षा सकिएको एक महिनाभित्रै प्रकाशन गर्ने योजना अघि सारेको छ । यसअघि तीन महिनासम्म लाग्ने नतिजा प्रकाशन प्रक्रियालाई छोट्याएर एक महिनामा झार्ने गरी राष्ट्रिय परीक्षा बोर्डले नयाँ कार्यविधि बनाउन लागेको हो ।
शिक्षामन्त्री सस्मिता पोखरेलले सोमबार बोर्डलाई निर्देशन दिँदै परीक्षा सकिनासाथै उत्तर पुस्तिका जाँच सुरु गर्न र एक महिनाभित्र नतिजा सार्वजनिक गर्न सक्ने गरी तत्काल कार्यविधि तयार पार्न भनेका थिए । विद्यार्थीहरूले माथिल्लो तहको पढाइमा ढिलाइ हुनु र ब्रिज कोर्समा ठगिनुपर्ने समस्या समाधान गर्न निर्देशन दिइएको हो ।
राष्ट्रिय परीक्षा बोर्डका डेपुटी कन्ट्रोलर विष्णु ज्ञवालीले मन्त्रालयको निर्देशनअनुसार कार्यविधि तयार पारेर एक साताभित्र मन्त्रालयमा पेस गर्ने तयारी भइरहेको बताए । नयाँ योजनाअनुसार परीक्षा केन्द्रमै उत्तर पुस्तिका जाँच गर्ने व्यवस्था मिलाइने छ । यसले ढिलाइ घटाएर एक महिनाभित्र नतिजा सार्वजनिक गर्न सम्भव हुने बोर्डका अधिकारीहरूको भनाइ छ ।
देशभर यस वर्ष एसइईका लागि कुल ५ लाख ९ हजार ९६१ विद्यार्थी ले फारम भरेका छन् । जसमध्ये २ लाख ५७ हजार ५२७ छात्रा र २ लाख ५२ हजार ४३४ छात्र रहेका छन् । देशभर १९ सय ९१ परीक्षा केन्द्र तोकिएका छन् ।
नयाँ कार्यविधि स्वीकृत भएपछि सबै परीक्षा केन्द्रबाटै उत्तर पुस्तिका परीक्षण गरिने मन्त्रालयको योजना छ । यसले विद्यार्थीहरूलाई छिटो नतिजा प्राप्त गरी माथिल्लो तहको पढाइमा सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।