×

वीरगञ्ज । वीरगञ्जस्थित ज्ञानदा एकेडेमीमा रहेको ज्ञानदा भिजनरी युनाइटेड क्लबको आयोजनामा एक दिवसीय योग तथा मेडिटेसन (ध्यान) कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा योग प्रशिक्षणतर्फ विद्यालयका खेलकुद प्रशिक्षक नरेन्द्र पटेलले सहजीकरण गरेका थिए । उनले विगत १० वर्षदेखिको अनुभवका आधारमा सहभागीहरूलाई योगका विभिन्न चरण, आसन तथा अभ्यासबारे व्यावहारिक प्रशिक्षण दिएका थिए ।

त्यस्तै, मेडिटेसनतर्फ ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइरालाले प्रशिक्षण दिएका थिए । उनले ३४ वर्ष लामो अनुभवका आधारमा ध्यानमार्फत कसरी मानसिक तनाव कम गर्दै कामप्रति एकाग्रता बढाउन सकिन्छ भन्नेबारे सहभागीहरूलाई अनुभवात्मक ज्ञान प्रदान गरेका थिए ।

कार्यक्रमका क्रममा ज्ञानदा भिजनरीजका अध्यक्ष युवराज चौधरीले प्रशिक्षक द्वय पटेल र कोइरालालाई प्रशंसा पत्र प्रदान गर्दै उनीहरूको योगदानको उच्च मूल्याङ्कन गरेका थिए ।

प्रशिक्षणमा योगका विभिन्न अभ्यास तथा ध्यानका विविध विधिहरू समेटिएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारी गरी करिब एक सय जनाको सहभागिता रहेको थियो ।

सहभागीमध्ये एक जनाले कार्यक्रम अत्यन्तै लाभदायक रहेको उल्लेख गर्दै यसले दैनिक जीवनमा सकारात्मक ऊर्जा वृद्धि गर्नुका साथै व्यवहारमा प्रभावकारी रूपमा लागू गर्न सकिने बताएका थिए ।

Back to top